fbpx

खड्ग योगी (अनिल)
नेता, नेकपा (माओवादी केन्द्र)

नेपालको कम्युनिस्ट आन्दोलनले जनवादी क्रान्तिको कार्यदिशामा ७० वर्षको लामो यात्रा पुरा गरिसकेको छ । बदलिंदो परिवेशका लागि यो कार्यादिशाले अब परिणाममुखी काम गर्न सक्दैन भन्ने बहस कम्युनिस्ट आन्दोलनभित्र छ । केही शास्त्रीय कम्युनिस्ट पार्टीबाहेकले अबको दिशा वैज्ञानिक समाजवाद हो भन्न थालेका छन् । यद्यपी त्यसको मार्गदर्शन के हुने, कस्तो कार्यक्रम बनाएर जाने भन्ने बारे मूलधारका कम्युनिस्ट पार्टीहरुमा अन्योलता भने देखिन्छ । यसै सन्दर्भमा नेकपा (माओवादी केन्द्र) का अध्ययनशील नेता अनिल योगीसँग गरिएको कुराकानीको सम्पादित अंश यहाँ बहसका लागि प्रस्तुत गरिएको छ ।

त्कालिन नेपाली समाजको ऐतिहासिक भौतिकवादी धारणाबाट विश्लेषण गरेर नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालले एउटा निष्कर्ष निकाल्नुभयो । उहाँको निष्कर्ष थियो– नेपाली समाजको चरित्र अर्ध औपनिवेशीक र अर्धसामन्ती छ । यो समाजलाई फेर्नका लागि जनवादी क्रान्तिको कार्यदिशा आवश्यक छ भनेर पुष्पलालले व्याख्या गर्नुभयो । त्यो व्याख्याअनुरुप नै, मुलुक अर्धसान्ती र अर्धऔपनिवेशीक छ भन्ने मान्यताभित्र रहेर नेपालको कम्युनिस्ट आन्दोलन करिब ६ दशक चल्यो । त्यसमा एउटा धारा शान्तिपूर्ण बाटोबाट अगाडि बढ्यो र अर्को धारा शसस्त्र विद्रोहको बाटोबाट अगाडि बढ्यो । यी दुई बाटोबाट भएको कम्युनिस्ट आन्दोलनले नेपालमा सामन्ती राजतन्त्रको अन्त्य गर्दै संघीयल लोकतान्त्रिक गणतन्त्र स्थापना गर्यो । यसरी नेपालमा मौलिक ढंगले जनवादी क्रान्ति सम्पन्न भयो । अब त्यही जनवादी क्रान्तिको कार्यदिशाभित्र रुमलिएर बस्न हुँदैन । अब परिवर्तित विश्वको विश्लेषण गरेर मार्क्सवादको सिर्जनात्मक विकास गर्दै वैज्ञानिक समाजसवादको बाटोमा जानुपर्छ भनेर हामी बहस गर्दैछौं । पार्टीको राष्ट्रिय सम्मेलन हुँदैछ, त्यसमा पनि हामी यो विषयमा जमेर बहस गर्छौँ ।

करिब १७ हजारको बलिदानबाट देशमा संविधान, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीकता इत्यादि उपलब्धिहरु प्राप्त भयो । तर अहिलेको चुनावि प्रणालीबाट यो व्यवस्थाअनुरुपको नेतृत्व स्थापित हुन सक्ने देखिएन । यो चुनावी प्रणालीबाट किसान, मजदुर, महिला, दलित, जनजाति, मधेस, मुस्लिमलगायतका समस्याहरु समाधान होला भन्ने थियो तर भएन । यो चुनावी प्रणाली उनीहरुका लागि फिट खाएन । फेरि उहीँ हुनेखानेले, व्यापारि, ठेकेदार, कर्पोरेट व्यक्तिहरुले चुनाव जित्ने तर बीसौं, तीसौं वर्ष राजनीतिमा खटिरहेका आदर्श र इमान्दार पात्रहरुले चुनावमा टिकटै नपाउने परिस्थिति बन्यो । फेरि उहीँ हुनेखानेकै हातमा सत्ताको बागडोर पुग्ने स्थिति बन्यो । अन्ततः यो चुनावी प्रणालीले राजनीति र व्यवस्थालाई नै विकृत बनायो । असाधारण बलिदानबाट प्राप्त उपलब्धि नै धरासायी बन्ने हो कि भन्ने चिन्ता सबैतिर उठ्ने गरेको पनि छ । यसले एउटा उपलब्धि दियो तर अब यो प्रणालीबाट नयाँ काेर्समा सिफ्ट गर्नुपर्छ ।

हामीले अहिलेको चुनावी प्रणालीमा खराबी औल्याइसकेपछि यसको विकल्प दिनसक्नुपर्छ । त्यसका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाने तर राष्ट्रपति भने प्रत्यक्ष निर्वाचनबाट निर्वाचित गर्ने । अहिले त व्यक्तिले जित्नुपर्ने चुनाव प्रणाली छ । त्यसका लागि जित्ने व्यक्तिलाई टिकट दिनै पर्यो । व्यक्तिले जित्ने भनेपछि साम, दाम, दण्डभेद सबै अपनाउनै पर्यो । यसमा व्यक्तिको दोषभन्दा पनि प्रणालीको दोष हो । व्यक्तिको त बाध्यता हो । यसैबाट विकृति, भ्रष्टचार र अपराधिकरण जन्मियो । त्यसकारण नयाँ चुनाव प्रणाली तत्कालको आवश्यकता हो । त्यसका लागि पार्टीले ढ्वाङ थाप्ने, व्यक्तिलाई भोट माग्न र हाल्न नपर्ने विधिमा जान सकियो भने मुलुकलाई आधाउधी भ्रष्टचारबाट उन्मुलन गर्न सकिन्छ ।

पूर्णसमानुपातिक चुनावी प्रणाली अपनाउँदा संविधानमै केही व्यवस्था गर्नुपर्छ । कस्तो व्यक्तिले टिकट पाउने, मन्त्री, सांसद कति पटक हुन पाउने, दलित कति प्रतिशत, महिला कति प्रतिशत, मेधस, जनजाति र उत्पिडित क्षेत्रबाट कति प्रतिशत, खुल्ला कति प्रतिशत भन्ने कुरा संविधानमै व्यवस्था गरिदिने । त्यसो भएन भने चाहीँ पूर्ण समानुपातिकमा पनि नेताहरुले आफ्ना मान्छे भर्ती गर्ने थलो बन्ने र यो प्रणाली पनि प्रभावकारी नहुने हुन्छ । त्यो त अहिले पनि समस्या भइनै सकेको छ । त्यो विकृतिलाई चेक एण्ड व्यालेन्स गर्ने विधि पनि अपनाउने भन्ने विषयमा पार्टीभित्र बहस चलिरहेको छ । अर्को कुरा यतिधेरै सांसद मुलुकले धान्न सक्दैन । सांसदको संख्या घटाउने, पूर्णसमानुपातिक निर्वाचन प्रणालीमा जाने र कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचनबाट छान्ने । यति गरियो भने मुलुकको राजनीतक विकृतिलाई एकहतसम्म नियन्त्रण गर्न सकिन्छ । र मुलुक नयाँ आधारतर्फ फड्को मार्छ । अहिलेको निर्वाचनल प्रणालीबाट नेपालका सबै राजनीतिक दलभित्र इमानन्दा र आदर्श पात्रहरु उत्पीडनमा परेका छन् । सबै पार्टीमा समस्या परेको छ ।

अर्को विषय, नेकपा (माओवादी केन्द्र) अब वैज्ञानिक समाजवादको बाटोमा जानु नै पर्छ । वर्तमान विश्वमा आएको परिवर्तनलाई ठिक ढंगले विश्लेषण र संलेषण नगरी हामी वैज्ञानिक समाजवादमा जानै सक्दैनौं । विज्ञान–प्रविधिमा आएको अद्भूत विकासको अध्ययन जरुरी छ । त्यसैगरी माक्र्सवादले जोड दिएको कुरा त अर्थप्रणालीमा थियो । हामी पनि वैज्ञानिक समाजवादी व्यवस्थामा जाने हो भने सामुहिक उत्पादन प्रणालीमा जानै पर्छ । कुरा समाजवादको गर्ने र निजि उत्पादनमा जाने कुराले हामी समाजवादी राजनीतिक कोर्समा प्रवेश गर्नै सक्दैनौं । समाजवादमा जाने भन्दिएर मात्रै त समाजवाद आउँदैन । त्यसका लागि अर्थतन्त्र चाहिन्छ । यो पुँजीवादी अर्थप्रणालीका ठाउँमा सामुहिक उत्पादन प्रणाली आवश्यक छ । आफ्नै नेतृत्वमा विज्ञानको क्षेत्रमा भइरहेका विकासका क्षेत्रमा सामुहिक उत्पादन गर्ने । सामुहिक उत्पादनमा गइएन भने कम्युनिस्ट चेतना निर्माण हुँदैन । कम्युनिस्ट पार्टीका सम्पूर्ण कार्यकर्तालाई उत्पादनको क्रान्तिमा लगाउनुपर्छ । म त योभन्दा अरु बाटो देख्दिन । हामी अहिले जहाँ रुमलिएर बसेका छौं, यसले चहीँ समाजवाद गफमा मात्रै ल्याउँछ, यथार्थमा ल्याउँदैन । अहिले त कस्तो छ भने समाजवादका ठूल्ठूला गफ गर्ने तर दैनिक जीवन व्यवहार चहीँ चरम व्यक्तिवादी । आफैँ ठूलो नेता बन्नुपर्ने, हाइफाइ गर्नुपर्ने, ठूलो पद आफैँलाई चाहिने । यसमा व्यापक शुद्धिकरण गरेर नगइ हुँदैहुँदैन । अहिले हामी गुज्रिरहेको अवस्थाबाट त समाजवादमा जाने कल्पनै गर्न सकिंदैन ।

एउटा कम्युनिस्ट पार्टीको नेताको दिमागमा मैले जसरी पनि चुनाव जित्नुपर्छ, मन्त्री बन्नुपर्छ, सांसद बन्नुपर्छ भन्नेभन्दा अरु केही नआउने भयो । मन्त्री, सांसद भनेपछि के गर्ने भन्ने त छदैछैन । मात्रै चुनाव जित्नुपर्छ । चुनावदेखि चुनावसम्म । कम्युनिस्ट र कांग्रेस हुनुमा कुनै फरक देखिन छाडिसक्यो । हामीले चुनाव जितेपछि जनताको हितमा कसरी काम गर्ने ? शिक्षा, स्वास्थ्यजस्तो आधारभूत कुराहरुमा भएको निजिकरणलाई कसरी खारेज गर्ने र जनमुखी शिक्षा स्वास्थ्य कसरी बनाउने ? यस्ता क्षेत्रमा कम्युनिस्ट सांसद र मन्त्रीले काम गरोस् । जनताको जीवन फेर्ने सहकारी र सामुहिक उत्पादनको क्षेत्रमा काम गरोस् । लगानी गरोस् । अहिले निजिकरण नभएको कहीँ देखिंदैन ।

कम्युनिस्टले निजीकरणको विकल्प दिनसक्नुपर्छ । निजीकरणले समाजवाद आउँदैन । समाजवाद मैले हैन हामीले ल्याउने हो । मेरो उद्योग हैन, हाम्रो उद्योग बनाउने हो भने समाजावदको केही लक्षण देखिन थाल्छ । माओवादी केन्द्र यो बाटोमा जानुपर्छ । नत्र त माओवादी केन्द्र एउटा पोखरी जस्तो बन्छ । माओवादी केन्द्र त प्रवाहमा बग्ने नदिजस्तो हुनुपर्यो । सुनकोशी हुनुपर्यो, नारायणी र कालिगण्डकी हुनुपर्यो । त्यसका लागि विचारमा क्रान्ति ल्याउनुपर्छ । त्यसरी मात्रै जित्न सकिन्छ । त्यसका लागि दृष्टिकोण चाहिन्छ । युगको मार्गदर्शन चाहिन्छ । नेकपा बन्दा हामीले एमालेसँग संगत गर्ने मौका पायौं । तर एमालेमा यस्ता वैचारिक विषयमा छलफल नै हुन्न रैछ । त्यहाँ त कसरी चुनाव जित्ने ? कसरी धनी बन्ने ? कसरी निजिकरणलाई मलजल गर्ने भन्नेमा मात्र छलफल हुने रैछ । उनीहरुमा अहिले हामी जित्छौं भन्ने घमण्ड देखिन्छ तर जितेर के गर्ने भन्ने छैन । त्यहाँ लाखको कुरै छैन । चुनाव जित्नका लागि करोड र अरबको कुरा छ । लाख त खारेज नै भइयोसक्यो । त्यो चिन्तनले कम्युनिस्ट आन्दोलनलाई विघटन गर्ने र समाजवादलाई नै भ्रष्टीकरण गर्ने दिशातिर लान्छ । तसर्थ माओवादभित्र हामी नयाँ ठाउँमा जाने बहस गर्छौं । वैज्ञानिक समाजवादमा जाने बहस गर्छौं ।

मार्क्सवादी विश्वदृष्टिकोण आउँदै गर्दा विश्व औद्योगिक पुँजीवादको सुरुवाती चरणमा थियो । त्यो परिवेशमा माक्र्स र एंगेल्सले माक्र्सवादको रचना गर्नुभयो । उहाँहरुले नै भन्नुभएको छ कि यदि मार्क्सवाद अनन्तकालसम्म लागु हुन्छ भनेर कसैले भन्छ भने त्यो मार्क्सवादी हैन । यो परिवर्तित समय र सन्दर्भअनुसार नयाँ नयाँ निष्कर्ष निकाल्दै जानुपर्छ । अब मार्क्सवादअनुसार पनि त्यो समयमा बनेका कार्यक्रमहरु अहिलेको समयमा लागु हुन सक्दैन । अहिले समय नै अर्कै छ । विज्ञान–प्रविधिमा यतिधेरै विकास भएको छ । अहिलेको विश्व परिवेशमा आएको परिवर्तनलाई हेरेर निष्कर्ष निकाल्नुपर्यो । मार्क्सवादका आधारभूत पक्षलाई आत्मसाथ गर्दै नयाँ मार्गदर्शन बनाउँदै जानुपर्छ । यदि त्यसो गरियो भने मात्र हामी गतिशील मार्क्सवादी हुन्छौं । अन्यथा हामी धर्मसूत्रवाला माक्र्सवादी हुन्छौं । ब्रह्मा, विष्णु, महेश्वर भन्नु र माक्र्स, लेनिन, माओ भन्नु उस्तै हुन्छ । धर्मभिरु भएर विचारको विकास गर्न संभवै छैन ।

अहिले त समाजवादको बाटोमा जाने समाजवादी मात्रै छैनन् । गैससमाजवादीहरु पनि समाजवाद भनिरहेका छन् । अब दुनियाँ पुँजीवादमा अडिन सक्दैन । समाजवादमा मात्रै अबको समाज अडिन सक्छ । त्यसकारण समाजवादको त विकल्पै छैन । पुँजीवादको पनि सीमा छ । यो असीमित व्यवस्था हैन । यो एक दिन ढल्छ । अब यसले धेरै धान्न सक्ने देखिन्न । त्यसकारण हामी सबैको समाजवादमा नै भविष्य छ । बरु हामी त्यो बाटोमा जानसक्छौं कि सक्दैनौं, त्यो भने चुनौति हो । चुनौति अरु हैन, हामी आफैँ हौं । हामी आफूँ समाजवादको बाटोमा जान सक्यौं भने अरु कसैले रोक्न सक्दैन ।

बजारमा नेपाली भाषामा अनुवाद भएर आएको शून्य सीमान्त लागतमा आधारित सहयोगी समाज र वैज्ञानिक समाजवादको रोडम्याप नामक पुस्तक मैले दुई पटक पढेँ । लेखकले त्यसमा नयाँ कुरा दिन खोजेका छन् । समाजवाद आन्दोलनमा लागेकाहरुका लागि त्यो पुस्तक असाध्यै राम्रो खुराक हो । मैले धेरैलाई त्यो पढ्नै पर्ने पुस्तक छ भनेको पनि छु र यो मिडिया मार्फत पनि त्यही भन्छु । लेखकले पुस्तकमा उत्पादनको अवस्थाबाट वर्तमान विश्वको वास्तविकताको चित्रण गरेका छन् । वस्तुहरुको इन्टनेटले कसरी उत्पादनलाई शून्यतिर लान्छ र त्यसको जगमा सहयोगी समाजको निर्माण कसरी भइरहको छ भन्ने व्याख्या छ । त्यसैगरी निशुल्क ऊर्जा, यातायात र सूचना कसरी संभब छ भन्नेबारे र विज्ञन–प्रविधिले ल्याएको क्रान्तिबारे व्याख्या छ । त्यसले उत्पादनलाई कसरी शून्यको नजिक पुर्याउछ र उत्पादनलाई प्रचुरतातर्फ लैजान्छ भन्ने विषयको राम्रो र तथ्यपरक विषय प्रस्तुत गरिएको छ । उनले पुस्तकमा त्यसको विरोधी शक्तिले पुँजीवादलाई ढालेन, ढाल्न संभव पनि छैन, बरु उनीहरुले नै गरेको प्रचुर उत्पादनले नै पुँजीवाद ढल्छ भनेको छ । विश्व व्यवस्था कसरी समाजवाद उन्मुख जाँदैछ भन्ने व्याख्या निकै सुन्दर ढंगले प्रस्तुत गरिएको छ । एक पटक त्यो सबैले पढौं । त्यस्ता पुस्तकहरुले हामीलाई वैज्ञानिक समाजवादी क्रान्तिको बाटो निर्माण गर्नमा सहयोग पुग्छ ।