fbpx

काठमाडौँ २ भदौ / भिजिट भिसामा विभिन्न मुलुक जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका यात्रुका कागजात शंकास्पद देखिए नेपाल प्रहरीमार्फत अनुसन्धान गरिने भएको छ ।

यस अघि यात्रुका कागजात शंकास्पद देखिए प्रस्थान अनुमति नदिई बिनाअनुसन्धान फिर्ता गरिँदै आएकामा अब भने अध्यागमन कार्यालयले त्यस्ता यात्रुमाथि अनुसन्धान गर्न विमानस्थलबाटै प्रहरीको जिम्मा लगाउने भएको हो ।

यस्तै गिरोहको योजनामा रकम बुझाएर भिजिट भिसाको आवरणमा गएका यात्रु अध्यागमन सुरक्षा जाँचपास गरेलगत्तै दोहोरो हवाई टिकटमध्ये फर्कने टिकट रद्द गर्ने गरेको तथ्य भेटिएपछि यसमा पनि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइएको छ । अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले आइतबार पत्रकार सम्मेलन गरी भिजिट भिसालाई व्यवस्थित, पारदर्शी र कानुनसम्मत बनाउन सुधारका थप प्रयास सुरु गरिएको र यसमध्ये अब ‘यात्रुको हुलिया हेरेर नभई वैध कागजात’ का आधारमा आवागमन अनुमति दिइने स्पष्ट पारे ।

अध्यागमनबाट हुने आवागमनलाई सुरक्षित, व्यवस्थित र कानुनसम्मत बनाउने विषयमा विभागले केही दिनअघि मात्रै विमानस्थल प्रहरी, मानव बेचबिखन अनुसन्धान ब्युरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, लागू औषध नियन्त्रण ब्युरोसहित विमानस्थलभित्र सक्रिय अरू निजी संघसंस्थाका प्रतिनिधिलाई पनि बोलाएर छलफल गरेको थियो ।

गृह मन्त्रालय र अध्यागमनका कर्मचारीसँगको मिलेमतोमा भइरहेको असुली रोक्न र दोषीलाई कारबाही गर्न विभागले वैदेशिक रोजगारी र अध्ययनसँग सम्बन्धित संघसंस्था, बैंक तथा वित्तीय संस्था र सम्बद्ध सरकारी संयन्त्रमाथि नियमित अनुगमन तथा नियमन गर्न विभिन्न मन्त्रालय र राष्ट्र बैंकलाई शुक्रबार पत्र पठाएको छ ।