fbpx

पुष २३ काठमाडौँ / नेपाली कांग्रेस केन्द्रीय कार्यालयले आज प्रेस विज्ञप्ति जारी गरी पार्टीका पदाधिकारी वा सदस्यहरूले व्यक्तिगत रूपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधानविपरीत हुने भन्दै त्यस्ता गतिविधिमा संलग्न नहुन नेताकार्यकर्तालाई अपिल गरेको छ ।

पार्टीका सबै तहका पदाधिकारी एवं सदस्यहरु, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, भ्रातृ एवं शुभेच्छुक संस्था तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिका पदाधिकारी एवं सदस्यलाई त्यस्ता गतिविधिमा संलग्न नहुन अपिल गरेको छ ।

कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज पत्रकार सम्मेलन गरी यही पुस २७ र २८ गते काठमाडौँमा विशेष महाधिवेशन आह्वान गरेपछि कांग्रेस केन्द्रीय कार्यालयले सो परिपत्र जारी गरेको हो ।

गत असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशनका लागि पार्टी केन्द्रीय कार्यालयमा दर्ता गराएको निवेदनअनुसार तीन महिनाभित्र विशेष महाविधेशन गर्नुपर्ने सो पक्षले माग गर्दै आएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयले पार्टीको विधानमा व्यवस्था भएबमोजिम कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई नभई केबल पार्टीको केन्द्रीय कार्यसमितिलाई मात्र रहेको स्पष्ट पारेको छ ।

गत मङ्सिर १५ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले १५औँ महाधिवेशनको कार्यतालिका सर्वसम्मत निर्णय गरी पार्टीको विधानबमोजिम महाधिवेशनको प्रक्रिया अघि बढिसकेका सन्दर्भमा विशेष महाधिवेशनको औचित्य मङ्सिर १५ गतेदेखि नै स्वतः समाप्त भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयबाट कार्यतालिका र कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा, सोही अवधिभित्र माग गरिएको विशेष महाधिवेशनको औचित्य समाप्त भएको यथार्थलाई बेवास्ता गरी विभिन्न सञ्चारमाध्यममार्फत पार्टीको विशेष महाधिवेशन आह्वान गरिएको भन्ने विषयमा पार्टीको ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।