काठमाडौँ १ चैत २०८१ / विश्व स्वास्थ्य संगठन (WHO) र संयुक्त राष्ट्रसंघीय बालकोष (UNICEF) द्वारा गरिएको विश्लेषण अनुसार, २०२४ मा युरोपेली क्षेत्रमा १,२७,३५० दादुराका घटनाहरू रिपोर्ट भएका छन्। यो संख्या २०२३ को तुलनामा दोब्बर हो र १९९७ यताकै उच्च हो।
युरोप र मध्य एसियाका ५३ देशहरू समेट्ने यस क्षेत्रमा पाँच वर्ष मुनिका बालबालिकाहरू दादुराका ४०% भन्दा बढी घटनाहरूमा समावेश थिए। रिपोर्ट गरिएका घटनाहरू मध्ये आधाभन्दा धेरैलाई अस्पताल भर्ना गर्न आवश्यक पर्यो। हालसम्म उपलब्ध प्रारम्भिक विवरण अनुसार, ६ मार्च २०२५ सम्म कुल ३८ जनाको मृत्यु भइसकेको छ।
यस क्षेत्रमा सन् १९९७ मा २,१६,००० दादुराका घटनाहरू रिपोर्ट गरिएका थिए, जुन सन् २०१६ मा घटेर ४,४४० मा आइपुगेको थियो। तर, सन् २०१८ र २०१९ मा क्रमशः ८९,००० र १,०६,००० घटनाहरू देखिए। कोभिड-१९ महामारीको समयमा खोप दर घटेसँगै, २०२३ र २०२४ मा घटनाहरू फेरि तीव्र रूपमा वृद्धि भए। धेरै देशहरूमा खोप दर अझै पनि महामारीपूर्वको स्तरमा फर्किन सकेको छैन, जसले महामारीको जोखिम बढाएको छ।
“दादुरा फर्किएको छ, र यो सतर्कता अपनाउने समय हो। उच्च खोप दरबिना स्वास्थ्य सुरक्षा सम्भव छैन। जब हामी युरोप र मध्य एसियाका लागि नयाँ क्षेत्रीय स्वास्थ्य रणनीति बनाउँदैछौं, हामी कुनै पनि हालतमा पछाडि पर्न सक्दैनौं। हरेक देशले खोपको पहुँच कमजोर भएका समुदायहरूलाई लक्षित गर्दै पहल गर्नुपर्छ,” डब्लुएचओ युरोपका क्षेत्रीय निर्देशक डा. हान्स हेनरी पी. क्लुगे भन्छन्। “दादुराको भाइरस कहिल्यै रोकिन्न – र हामीले पनि त्यसलाई रोक्न कुनै कसर बाँकी राख्नु हुँदैन।”
युरोपेली क्षेत्रमा सन् २०२४ मा विश्वभरका कुल दादुरा घटनाहरूको एक तिहाइ हिस्सा सन् २०२३ मा मात्र युरोपेली क्षेत्रमा ५ लाख बालबालिकाहरूले दादुराको पहिलो खोप (MCV1) पाउन सकेनन्।
“युरोप र मध्य एसियामा पछिल्ला दुई वर्षमा दादुराका घटनाहरू तीव्र रूपमा वृद्धि भएका छन् – जसले खोप सुरक्षामा भएका कमजोरीहरू देखाउँछ,” युनिसेफका युरोप र मध्य एसिया क्षेत्रीय निर्देशक रेजिना डी डोमिनिस भन्छिन्। “बालबालिकालाई यस घातक रोगबाट जोगाउन, तत्काल सरकारी हस्तक्षेप र स्वास्थ्यकर्मीहरूको निरन्तर लगानी आवश्यक छ।”
दादुरा सबैभन्दा संक्रामक भाइरसहरूमध्ये एक हो। यसबाट निमोनिया, मस्तिष्कको सूजन (एन्सेफलाइटिस), पखाला र पानीको कमीजस्ता जटिलताहरू उत्पन्न हुन सक्छन्। यसले रोगसँग लड्ने शरीरको क्षमतालाई कमजोर पारेर अन्य संक्रमणको जोखिम बढाउँछ। खोप नै यस भाइरसविरुद्धको सबैभन्दा प्रभावकारी बचाव हो।
सन् २०२३ मा बोस्निया एण्ड हर्जगोभिना, मोंटेनेग्रो, उत्तर म्यासेडोनिया र रोमानियाका ८०% भन्दा कम बालबालिकाले MCV1 खोप प्राप्त गरे, जुन ९५% को सामूहिक प्रतिरोध क्षमताको आवश्यक सीमाभन्दा निकै कम हो। बोस्निया एण्ड हर्जगोभिना र मोंटेनेग्रोमा त यो दर क्रमशः ७०% र ५०% भन्दा कम रहेको छ।
सन् २०२४ मा रोमानियाले सबैभन्दा धेरै ३०,६९२ दादुराका घटनाहरू रिपोर्ट गर्यो, त्यसपछि कजाकिस्तानमा २८,१४७ घटनाहरू देखिए।
दादुरा अझै पनि विश्वव्यापी चुनौती
सन् २०२४ मा विश्वभर ३,५९,५२१ दादुराका घटनाहरू रिपोर्ट गरिए। दादुरा भाइरस देश र महादेशहरूबीच सजिलै सर्ने भएकाले, खोप नलगाएका वा अपूर्ण रूपमा खोप लगाएका समूहहरूमा जहाँसुकै प्रकोप देखा पर्न सक्छ।
युनिसेफ र डब्लुएचओले सरकारहरूसँग मिलेर युरोपेली संघ (EU) र गाभी, द भ्याक्सिन एलायन्स (Gavi) जस्ता साझेदारहरूको सहयोगमा खोप अभियानहरू सञ्चालन गरिरहेका छन्। यसमा समुदायहरूलाई संलग्न गराउने, स्वास्थ्यकर्मीहरूलाई तालिम दिने, खोप कार्यक्रमहरू बलियो बनाउने र रोग अनुगमन प्रणालीलाई सुदृढ पार्ने प्रयास गरिएका छन्।
युनिसेफ र डब्लुएचओले दादुराको प्रकोप भइरहेका देशहरूलाई संक्रमितको खोजी, सम्पर्क पहिचान, र आपतकालीन खोप अभियानहरू सञ्चालन गर्न आग्रह गरेका छन्। साथै, प्रकोपको जड पत्ता लगाएर, स्वास्थ्य प्रणालीका कमजोरीहरू समाधान गर्न र खोप पहुँचमा असमानतालाई सम्बोधन गर्न रणनीतिक उपायहरू अपनाउन आवश्यक छ।
हाल दादुराको प्रकोप नरहेका देशहरूले पनि सचेत हुनुपर्छ। यसका लागि रोग प्रतिरोध क्षमतामा भएका कमजोरीहरू पहिचान गर्ने, खोपप्रति जनविश्वास कायम राख्ने, र स्वास्थ्य प्रणालीलाई सबल बनाउन आवश्यक छ।

