काठमाडौँ ,वैशाख २९ / प्रतिनिधि सभाको मंगलबारको बैठकमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधनका क्रममा जनयुद्धकालीन घटनाहरू स्मरण गर्दै भावुक अभिव्यक्ति दिएका छन्।
मंगलबार संसदमा बोल्दै उनले संविधानमै १० वर्षपछि समीक्षा गर्ने व्यवस्था गरिएको उल्लेख गर्दै यस विषयमा सबैसँग बृहत्तर छलफल आवश्यक रहेको औँल्याए ।
उनले संविधान संशोधनका लागि आफ्नो दल तयार रहेको बताउँदै संशोधनमार्फत राष्ट्रिय स्वाधीनता, नेपाली जनताको आत्मनिर्णय र स्वाभिमान अझ मजबुत बनाउँदै लोकतन्त्रलाई थप सुदृढ गर्नुपर्ने आवश्यकता रहेको बताए ।
साथै, संविधान संशोधनमार्फत सीमान्तकृत समुदायको उपस्थिति अझै बढाउनुपर्ने उनले उल्लेख गरे । संसदीय दलका नेतासमेत रहेका प्रचण्डले संविधान संशोधनका लागि ठूलो विवेक आवश्यक पर्ने बताउँदै संयमता र बृहत् छलफलको आवश्यकता रहेको उल्लेख गरे ।
उनले सरकारद्वारा सुकुम्वासी बस्तीमा गरिएको डोजर चलाउने कार्यप्रति आपत्ति जनाउँदै त्यसबारे पुनर्विचार आवश्यक रहेको धारणा राखे।
त्यसैगरी नीति तथा कार्यक्रममा मधेस र कर्णाली जस्ता क्षेत्रका मुद्दा पर्याप्त रूपमा समेटिन नसकेको भन्दै उनले सरकारलाई समावेशी दृष्टिकोण अपनाउन आग्रह गरे।

