fbpx

कृष्णप्रसाद सापकोटा

नेपाली काँग्रेस, जसको इतिहास त्याग, बलिदान, संघर्ष र लोकतान्त्रिक मूल्य–मान्यतासँग अभिन्न रूपमा जोडिएको छ,तर आजभोलि भने त्यहि काँग्रेस गम्भीर आन्तरिक द्वन्द्व, अनुशासनहीनता र वैचारिक दिशाहीनताको संकटसँग जुधिरहेको देखिन्छ। विडम्बना के हो भने, पार्टीभित्रकै सहयात्री, समकक्षी र सहकर्मीप्रति अराजक र आरोपपूर्ण दृष्टिकोण राख्नेहरू, प्रतिपक्षी दलका प्रतिनिधिलाई भने आफ्नै भाइझैँ गरेर अङ्गाल्न तत्पर देखिन्छन्। यो विडम्बनापूर्ण अवस्था काँग्रेसभित्र गहिरो आत्ममन्थनको खाँचो रहेको प्रस्ट संकेत हो।

विगत केही वर्षयता काँग्रेसभित्र देखिएको एक–अर्काप्रतिको अविश्वास, गुटगत प्रतिस्पर्धा, पात्रको भन्दा प्रवृत्तिको आलोचना गर्ने प्रवृत्ति, र नेतृत्वमा देखिएको असंवेदनशीलता यस्ता कारण हुन् जसले पार्टीको आन्तरिक ऐक्यबद्धतालाई टुटाउने खतरा उत्पन्न गराएको छ। यस्तो अवस्थामा, काँग्रेसजनहरू प्रश्न गरिरहेका छन्—के अब छानबिन र समीक्षा गर्ने बेला आएको हो? वा, अझ गहिरो संवाद, परिष्कार र साझा आत्मालोचनाको बाटो समात्ने समय हो?

पार्टीभित्रका कतिपय नेताहरू बाहिर ठूला भाषण दिन्छन्, परिवर्तन र समावेशिताको झन्डा फहराउँछन्। तर जब आन्तरिक निर्णयप्रणालीको पारदर्शिता, कार्यकर्ताको अपेक्षा र संगठनात्मक मूल्यको कुरा आउँछ, उनीहरू मौन बस्छन्—मानौं, आन्तरिक पीडामा चिच्याइरहेको पार्टी एक रुझेको बिरालोको आवाजभन्दा पनि कम अर्थ राख्छ। यसरी मौनताले क्रान्तिकारी भाषणको सार्थकता गुमाउँछ।

अझ गम्भीर विषय के हो भने, पार्टीको आन्तरिक समस्या समाधान गर्नुको सट्टा कतिपय नेताहरू आफ्नै सहकर्मी विरुद्ध षड्यन्त्र बुन्दै, कटाक्ष गर्दै र शक्ति केन्द्रित गर्ने काममा लिप्त देखिन्छन्। त्यागको बाटो समातेका सच्चा काँग्रेस कार्यकर्ताहरू आज चिन्तित छन्—के भोलिको काँग्रेस दूरदर्शी, संगठित र सबल हुने? कि, यस्तै आरोप–प्रत्यारोप, गुटगत स्वार्थ र सत्ता मोहको दलदलमा झनझन् फस्ने?

आज आम काँग्रेसजनले नेतृत्वसँग जवाफ खोजिरहेका छन्। जवाफ केवल भाषण वा वक्तव्यमा होइन, आचरण, निर्णय र कार्यशैलीमा देखिनु पर्छ। संगठनको पुनर्संरचना, पारदर्शी नेतृत्व, तल्लो तहसम्मको आवाजको सम्मान, र साझा नीति निर्माणमा सबैको सहभागिता—यी परिवर्तनका सूत्रहरू हुन्।

पार्टीभित्रको सुदृढ एकता र विचारको स्पष्टताले मात्र काँग्रेसलाई पुनः सशक्त बनाउन सक्नेछ। अन्यथा, आफूभित्रका सच्चा कार्यकर्तालाई शत्रु ठान्ने र बाहिरबाट लाञ्छना आउने प्रवृत्तिलाई बढावा दिने हो भने काँग्रेसको भविष्य अँध्यारो कुहिरोभित्र हराउने खतरा उत्तिकै प्रबल छ।

काँग्रेसभित्र आत्मपरीक्षणको र आत्ममन्थनको समय आएको छ। गहिरो संवाद, सच्चा आलोचना र सुधारका कदम चाल्ने घडी यही हो। नभए काँग्रेसले आफूभित्रै आफ्ना सपनाहरूको चिहान बनाउनेछ।

काँग्रेस आज एउटा दोबाटोमा उभिएको छ—जहाँ एउटा बाटो अनुशासन, ऐक्यबद्धता र सुधारको हो भने, अर्को बाटो विखण्डन, संकीर्णता र स्खलनको हो। कुन बाटो समात्ने भन्ने निर्णय अब काँग्रेस नेतृत्व, कार्यकर्ता र सचेत समर्थकमाथि भर पर्छ।

लेखक गुल्मी क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधि हुन्  ।