काठमाडौँ ,वैशाख ३० / प्रधानमन्त्री बालेन शाहले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नको जबाफ दिने बुधबार संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरेता पनि अन्तिममा आएर प्रधानमन्त्री शाहले बुधबार नीति तथा कार्यक्रममा जबाफ आफैले नदिने भएका छन्।
सामान्यतया सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले नै दिने परम्परा छ। तर कार्यसूचीमा उल्लेख भए पनि प्रधानमन्त्री बालेनले नीति तथा कार्यक्रममा जबाफ नदिने भएका हुन्। उनको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको तर्फबाट जबाफ दिने तय भएको रास्वपाका एक नेताले जानकारी दिए।
बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत हुनेछ। वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ।
त्यसपछि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ।
प्रधानमन्त्री शाह सोमबार राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरिरहँदा संसदीय मर्यादा विपरीत बैठक छाडेर हिँडेको घटनालाई लिएर तीव्र आलोचना भइरहेको छ। मंगलबार प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी सांसदहरूले यसबारे सरकारको जबाफ मागेका थिए।

