वैशाख ३१ नयाँदिल्ली। भारतीय सरकारले बुधबार राति जारी गरेको आदेशअनुसार घरेलु बजारमा चिनीको आपूर्ति सुनिश्चित गर्न र मूल्यवृद्धि नियन्त्रणमा राख्ने उद्देश्यसहित चिनी निर्यातमा अस्थायी प्रतिबन्ध लगाएको छ। भारत विश्वको सबैभन्दा ठूला चिनी उत्पादकमध्ये एक हो।
भारतीय सरकारको आदेशमा सीमित अपवादबाहेक चिनी निर्यात रोकिएको उल्लेख गरिएको छ। यसअघि नै निर्यात प्रक्रियामा रहेका केही कन्साइनमेन्टलाई भने छुट दिइने जनाइएको छ। सरकारले अन्य मुलुकसँग खाद्य सुरक्षासम्बन्धी सरकारी सम्झौताअन्तर्गत हुने निर्यातलाई भने अनुमति दिइने स्पष्ट पारेको छ।
भारतले यस्तो निर्णय आगामी दिनमा हुने चिनी उत्पादनलाई लिएर गरिएको जनैएको छ । मौसमविद्हरूले औसतभन्दा कम मनसुन हुने सम्भावना औँल्याएपछि सरकारले आपूर्ति सङ्कटबाट जोगिन अग्रिम कदम चालेको मानिएको छ।
वर्षा कम भएमा ऊखु उत्पादनमा प्रत्यक्ष असर पर्ने र त्यसले चिनी उत्पादन घटाउन सक्ने आशङ्का गरिएको छ। भारतमा चिनी दैनिक उपभोगसँगै खाद्य उद्योगको महत्त्वपूर्ण कच्चा पदार्थसमेत भएकाले यसको मूल्यवृद्धिले व्यापक असर पार्न सक्छ।
चिनी निर्यातमा भारतले लगाएको नयाँ प्रतिबन्धले अन्तर्राष्ट्रिय बजारमा पनि असर पार्ने अनुमान गरिएको छ। भारत विश्व चिनी बजारको प्रमुख आपूर्तिकर्तामध्ये एक भएकाले यस निर्णयले विश्व बजारमा मूल्य बढ्न सक्ने विश्लेषण गरिएको छ। सरकारी तथ्याङ्कअनुसार भारतको चिनी निर्यात पछिल्ला वर्षहरूमा तीव्र उतारचढावबाट गुज्रिएको छ।

