ललितपुर, असार २१ – वर्षायामसँगै पहिरो, ढुंगा खस्ने तथा सडक अवरुद्ध हुने जोखिम बढेपछि कान्ति लोकपथमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले आइतबार सूचना जारी गर्दै मकवानपुरसँगको समन्वयमा कान्ति लोकपथ हुँदै मकवानपुर–सिन्धुली आवतजावत गर्ने सार्वजनिक, निजी तथा यात्रुवाहक सबै प्रकारका सवारी साधनको सञ्चालन अर्को सूचना जारी नभएसम्म प्रत्येक दिन साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म पूर्ण रूपमा बन्द गरिएको जनाएको छ।
प्रशासनका अनुसार यो व्यवस्था असार २१ गतेदेखि लागू भएको हो। वर्षायाममा सडकमा पहिरो खस्ने, ढुंगा झर्ने तथा सडक अवरुद्ध हुने सम्भावना उच्च रहेकाले यात्रुको सुरक्षा सुनिश्चित गर्न यस्तो निर्णय गरिएको जनाइएको छ।
जिल्ला प्रशासन कार्यालयले यात्रु, सवारी चालक तथा सम्बन्धित सबै पक्षलाई यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

