काठमाडौँ २२ असार / ब्राजिलका चर्चित फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिने घोषणा गरेका छन्। विश्वकप २०२६ को अन्तिम १६ चरणमा नर्वेसँग २–१ ले पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि उनले राष्ट्रिय टोलीसँगको आफ्नो १६ वर्ष लामो यात्रा समाप्त भएको बताएका हुन्।
न्यु जर्सीमा भएको खेलमा नर्वेका एर्लिङ हालान्डले दुई गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए। खेलको इन्जुरी समयमा नेयमारले पेनाल्टीमार्फत एक गोल फर्काए पनि ब्राजिललाई हारबाट जोगाउन भने सकेनन्।
चोटका कारण विश्वकपको सुरुआती खेल गुमाएका नेयमारले पछि टोलीमा पुनरागमन गरेका थिए। पूर्ण रूपमा फिट भएपछि पनि उनले धेरै खेलमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गर्ने अवसर पाएका थिए। नर्वेविरुद्धको पेनाल्टी गोल नै ब्राजिलका लागि उनको अन्तिम अन्तर्राष्ट्रिय गोल बन्यो।
सन् २०१० मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका नेयमारले ब्राजिलका लागि १३० अन्तर्राष्ट्रिय खेल खेल्दै ८० गोल गरेका छन्। उनी ब्राजिलका पुरुष फुटबलतर्फ सर्वाधिक गोल गर्ने खेलाडीका रूपमा आफ्नो यात्रा टुंग्याएका छन्। चार विश्वकप खेलेका उनले विश्वकप उपाधि जित्ने सपना भने पूरा गर्न सकेनन्।
यद्यपि उनले सन् २०१३ मा कन्फेडेरेसन कप जितेका थिए। साथै कप्तानका रूपमा सन् २०१६ को रियो ओलम्पिकमा ब्राजिललाई पहिलो स्वर्ण पदक दिलाएका थिए भने सन् २०१२ को लन्डन ओलम्पिकमा रजत पदक पनि जितेका थिए। लगातारको चोटका बाबजुद उनले लामो समयसम्म ब्राजिलको आक्रमण सम्हाल्दै आफूलाई देशका सर्वकालीन महान् फुटबलरमध्ये एकका रूपमा स्थापित गरेका छन्।

