काठमाडौं, १८ साउन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध तयारी अवस्थामा रहेको ‘अत्यन्त ठूलो’ सैन्य आक्रमण अन्तिम समयमा स्थगित गर्दै सोमबारदेखि तेहरानसँग नयाँ चरणको वार्ता सुरु हुने बताएका छन्।
राष्ट्रपति चढ्ने विमान एयर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानले सम्भावित आक्रमणको गम्भीरता बुझिसकेको र त्यसैका बीच कूटनीतिक संवाद अघि बढाइएको बताए। उनका अनुसार वार्ता सोमबार दिउँसोदेखि सुरु हुनेछ।
यसअघि आफ्नै सामाजिक सञ्जाल ‘ट्रुथ सोसियल’मार्फत ट्रम्पले इरान र मध्यपूर्वका केही साझेदार राष्ट्रहरूको आग्रहपछि सम्भावित सम्झौताको प्रारम्भिक खाका तयार भएकाले सैन्य कारबाही रोकिएको उल्लेख गरेका थिए।
ट्रम्पले सम्झौताका लागि कुनै निश्चित समयसीमा नराखिएको र आफू अनावश्यक रूपमा मानवीय क्षति चाहँदैनन् भन्दै साउदी अरेबियाका क्राउन प्रिन्स मोहम्मद बिन सलमानसहित संयुक्त अरब इमिरेट्स (युएई) र कतारले पनि सप्ताहन्तमा आक्रमण नगर्न आग्रह गरेको दाबी गरे। उनका अनुसार होर्मुज जलडमरूमध्य र इरानको आणविक कार्यक्रमसँग सम्बन्धित विषयमा सहमतिको सम्भावना देखिएकाले सैन्य कदम रोकिएको हो।
ट्रम्पको घोषणापछि सोमबार एसियाली बजार खुल्नेबित्तिकै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ। ब्रेन्ट क्रुडको मूल्य ४.५ प्रतिशतले घटेर प्रतिब्यारेल ८३.९८ अमेरिकी डलरमा झरेको छ भने अमेरिकी कच्चा तेलको मूल्य ४.६ प्रतिशतले घटेर ८०.७४ डलरमा पुगेको छ। गत फेब्रुअरी २८ देखि जारी तनावका कारण विश्वको करिब २० प्रतिशत कच्चा तेल तथा तरल प्राकृतिक ग्यास (एलपीजी) ओसारपसार हुने होर्मुज जलडमरूमध्य प्रभावित हुँदा अन्तर्राष्ट्रिय इन्धन बजारमा उतारचढाव देखिँदै आएको छ।
यता, इरानको अर्धसरकारी समाचार संस्था ‘मेहर’ले तेहरानले आक्रमण रोक्न अमेरिकासँग कुनै आग्रह नगरेको स्पष्ट पार्दै ट्रम्पको दाबीलाई ‘नयाँ झूट’को संज्ञा दिएको छ। यद्यपि, इरानी विदेशमन्त्री अब्बास अराघचीले ओमानसँग होर्मुज जलडमरूमध्यसम्बन्धी वार्ता अन्तिम चरणमा पुगेको बताएका छन्।
ट्रम्पले सोमबार हुने वार्ता कहाँ हुने र त्यसमा को–को सहभागी हुने भन्नेबारे थप विवरण सार्वजनिक गरेका छैनन्। उनले सम्भावित सैन्य कारबाही भएको भए त्यो ‘दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो’ हुन सक्ने र त्यसले महिनौँदेखि जारी तनाव अन्त्य गर्ने प्रयासमा गम्भीर असर पार्न सक्ने दाबी गरेका छन्। उता, इरानका कार्यवाहक रक्षामन्त्री माजिद इब्न अल–रिजाले आफ्नो देश कुनै पनि सम्भावित खतरा र धम्कीप्रति पूर्ण रूपमा सजग र तयारी अवस्थामा रहेको बताएका छन्।

