fbpx

काठमाडौं, ३१ साउन। सुदूरपश्चिम प्रदेशमा आज राति मौसम सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। प्रदेशका अधिकांश क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाले जनाएको छ।

कार्यालयका अनुसार सुदूरपश्चिमका हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान छ।

यसैगरी पहाडी र तराईका अधिकांश क्षेत्रमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेशका एक–दुई स्थानमा भने अत्यधिक भारी वर्षा हुनसक्ने भएकाले स्थानीयवासीलाई आवश्यक सतर्कता अपनाउन मौसम कार्यालयले आग्रह गरेको छ।

सम्भावित वर्षा र बाढीको जोखिमलाई ध्यानमा राख्दै सशस्त्र प्रहरी बल, नेपाल नं. ७ वैद्यनाथ बाहिनीले कैलाली र कञ्चनपुरका बाढी प्रभावित तथा नदी आसपासका बस्तीमा सावधानी अपनाउन अनुरोध गरेको छ। बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिगविजय सुवेदीका अनुसार जोखिमयुक्त क्षेत्रमा स्थानीयलाई सचेत गराउन माइकिङसमेत गरिएको छ।

उनका अनुसार पहाडी तथा तराईका केही स्थानमा अत्यधिक वर्षा हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै आवश्यक सूचना प्रवाह गरिएको छ। साथै, विपद्को अवस्था उत्पन्न भए तत्काल परिचालन गर्न सकिने गरी मातहतका सुरक्षा युनिटलाई तयारी अवस्थामा राखिएको छ।

मौसम विज्ञान कार्यालय अत्तरियाले सोमबार दिउँसो पनि सुदूरपश्चिमका केही भूभागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। दिउँसो हिमाली क्षेत्रमा सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ।

पहाडी तथा तराई क्षेत्रमा पनि मौसम सामान्यतया बदली रहने र धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले यात्रा तथा दैनिक गतिविधिका क्रममा आवश्यक सावधानी अपनाउन मौसम कार्यालयले सर्वसाधारणलाई अनुरोध गरेको छ।