fbpx

काठमाडौं, ३१ साउन। नेपाल आयल निगमले एलपी ग्यासको बिक्री वितरणमा पारदर्शिता र सहजता कायम गर्न ग्यास उद्योग तथा विक्रेतालाई नयाँ व्यवस्थाअनुसार काम गर्न निर्देशन दिएको छ।

निगमका अनुसार आगामी भदौ १ गते सोमबारदेखि ग्यास उद्योगले तोकेका आधिकारिक विक्रेतामार्फत नियमित प्रक्रियाबाट ग्यास बिक्री गरिनेछ। उपभोक्ताले आफूलाई सहज पर्ने तथा नजिकको आधिकारिक विक्रेतासँग सम्पर्क गरेर ग्यास लिन सक्ने निगमले जनाएको छ।

ग्यास उद्योगहरूले दैनिक रूपमा बिक्रीका लागि तोकिएका विक्रेता तथा वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर र उपलब्ध सिलिन्डरको संख्या खुल्ने विवरण बिहान ९ बजेसम्म निगमलाई बुझाउनुपर्नेछ।

त्यसैगरी, विक्रेता तथा वितरकले आफूले बिक्री गरेको ग्यासको विवरण अभिलेख राख्नुपर्नेछ। उक्त अभिलेखमा उपभोक्ताको नाम, सम्पर्क नम्बर र बिक्री गरिएको सिलिन्डरको परिमाण समावेश गर्नुपर्नेछ। यस्तो विवरण सम्बन्धित ग्यास उद्योगमा दैनिक उपलब्ध गराउनुपर्ने र उद्योगले सोही दिन निगममा पठाउनुपर्ने व्यवस्था गरिएको छ।

निगमले ग्यास वितरण गर्दा तत्काल आवश्यक पर्ने घरायसी उपभोक्तालाई प्राथमिकतामा राख्न उद्योग तथा विक्रेतालाई निर्देशन दिएको छ।

ग्यास ढुवानी तथा वितरणका क्रममा आवश्यक सुरक्षा प्रबन्ध मिलाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूसँग समन्वय गर्न गृह मन्त्रालयमार्फत अनुरोध गरिएको निगमले जनाएको छ। साथै, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँगको समन्वयमा निगमका कर्मचारीसमेत सहभागी संयुक्त टोली परिचालन गरी वितरण प्रक्रियाको अनुगमन गरिने भएको छ।

नजिकको आधिकारिक विक्रेताबाट कुनै कारणवश ग्यास पाउन नसकेका वा तत्काल ग्यास आवश्यक भएका उपभोक्ताले निगमको Quick Response Team (QRT) मा सम्पर्क गर्न सक्नेछन्। निगमले QRT का लागि ९८५१४४५१२४९८५१४४५१२८ नम्बर उपलब्ध गराएको छ।

ग्यास बिक्री वितरणमा देखिने समस्या न्यूनीकरण गर्दै वास्तविक आवश्यकता भएका उपभोक्तालाई सहज र व्यवस्थित रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले नयाँ व्यवस्था लागू गरिएको निगमले स्पष्ट पारेको छ।