धादिङ, १ भदौ । धादिङको गजुरी गाउँपालिका–२ चालिसेमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। पहिरोका कारण राजमार्गको दुवैतर्फको आवागमन रोकिएको प्रहरीले जनाएको छ।
सोमबार बिहान करिब ५ः४५ बजेतिर सडकको माथिल्लो भागबाट सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो। पहिरो खसेपछि उक्त सडकखण्डमा सवारीसाधनको आवागमन प्रभावित बनेको छ।
सडक अवरुद्ध भएपछि इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी सहायक निरीक्षक रामशरण बस्नेतको नेतृत्वमा प्रहरी तथा ट्राफिक प्रहरीसहित ६ जनाको टोली घटनास्थलमा पुगेको छ।
प्रहरीका अनुसार अहिले पहिरो पन्छाएर राजमार्ग सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। पहिरो हटाएपछि सडकमा रोकिएका सवारीसाधनको आवागमन सहज हुने अपेक्षा गरिएको छ।

