काठमाडौं, भदौ ३: सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ। संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे तथा राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजेका लागि तय गरिएको छ।
प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दसौँ संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको छ।
त्यस्तै, युवा श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता पनि पेस गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।
यता, राष्ट्रियसभाको दिउँसो बस्ने बैठकमा परराष्ट्र, कानुन, न्याय तथा संसदीय मामिला र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित लिखित प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले टेबुल गर्ने कार्यसूची रहेको छ।
त्यसैगरी, अर्थ मन्त्रालय तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नमाथि सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन्।
राष्ट्रियसभा बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’ ले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
आजका दुवै सदनका बैठकमा विधेयक, प्रश्नोत्तर तथा विभिन्न मन्त्रालयसँग सम्बन्धित विषयहरू कार्यसूचीमा समेटिएका छन्।

