fbpx

काठमाडौं । बैशाख १५ गते इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (क) मा सम्पन्न भएको उपनिर्वाचनको मतगणना आज सुरु गरिंदैछ । इलामको मतगणना आज बिहानदेखि सुरु गर्ने तयारी छ । मतगणना इलाम सदरमुकामको गौतमबुद्ध सभागृह हुनेछ ।

मतगणना सुरु गर्नुअघि बिहान ७ बजे सर्वदलीय बैठक छ । बैठकपछि मतगणना सुरु हुनेछ । चुलाचुली गाउँपालिका, माङ्सेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकाको मतपेटिका शनिबार राति १० बजेसम्म पनि संकलन हुन नसकेपछि शनिबार नै गणना सुरु गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन्। सर्वदलीय बैठकले मतगणनाबारे विविध निर्णय गरेपछि मात्र मतगणना सुरु हुनेछ ।

इलाम क्षेत्र नम्बर २ का १ लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मतदाताले शनिबारको उपनिर्वाचनमा मतदान गरेका थिए ।

यसैगरी बझाङमा पनि आजदेखि मतगणना सुरु गर्ने तयारी छ । प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलका अनुसार साइपाल गाउँपालिकाका साइपाल, एराङकुरी र दुलीका मतपेटिका आउन बाँकी छ । ती मतपेटिका हेलिकप्टरमार्फत् आज बिहान ८ बजेभित्र ल्याइपुर्‍याएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु हुने छ ।