fbpx

काठमाडौँ २० असार / नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्रीबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्पष्ट रुपमा अल्पमतमा परिसकेपछि राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताएका छन्।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै थापाले संविधान अनुसार विश्वासको मत लिने अधिकार प्रधानमन्त्रीलाई भएपनि अल्पमतमा परेपछि प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताएका हुन्।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापनामा नेपाली कांग्रेसको ठूलो योगदान रहेको बताउँदै उनले संविधान संशोधन आवश्यक भएको विचार व्यक्त गरे। सबै पक्षको सहमतिमा त्यसलाई मूर्तरूप दिन नेपाली कांग्रसले हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

महामन्त्री थापाले राजनीतिक स्थायित्व कायम गर्न संविधान संशोधन अपरिहार्य भएको दोहोर्याउँदै मुलुकको विशिष्ट परिस्थितिमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेसहितको राष्ट्रिय सरकार गठन हुन लागेको बताए।

त्यस्तै थापाले एमालेसँगको नयाँ गठबन्धन बनाइसकेपछि पनि प्रधानमन्त्री प्रचण्डको अस्थिर चरित्रका कारण उनको नेतृत्वको सरकार ढलेको स्पष्ट पारे। संविधान संशोधनका लागि नेपाली कांग्रेस र एमालेका संख्याले मात्र नपुग्ने भएकाले अन्य दलहरु सहितको राष्ट्रिय सहमतिको सरकार बनाउने उनको भनाइ छ।