fbpx

काठमाडौं २० साउन। आउदो दशैंदेखि नेपाल एयरलाइन्सले काठमाडौँदेखि सिड्निसम्म सिधा उडान सुरु गर्ने बिषयमा नेपाल तथा अस्ट्रेलियाका उच्च अधिकारीबीच सिड्नीमा छलफल भएको छ ।

डेढ वर्षदेखि छलफलले थप तीब्रता पाएपछि अब आगामी दशैँबाट नेपाल एयरलाइन्सले उडान सुरु गरेपछि सिधै यात्रा गर्न पाउने सम्भावना बढेको छ । यसकालागि दुई देशका बिभिन्न तहका उड्डयन प्राधिकरण, नियमन निकाय तथा अन्य सम्बन्धित अधिकारीबीच लामो समयदेखि छलफल तथा गृहकार्य हुँदै आएको छ ।

अधिकारीहरुका अनुसार अस्ट्रेलियाको उड्डयन प्राधिकरण तथा पुर्वाधार बिभागको अनुरोधमा अस्ट्रेलिया आएको नेपाली टोलीले ‘टेक्निकल एसेसमेन्ट’ को बिषयमा केही कुरा टुंग्याउन बाँकी रहेको जनाएका छन् ।

नेपाल – अस्ट्रेलिया सिधा उडान गर्ने बिषयमा करिब डेढ वर्षदेखि द्विदेशीय छलफल भइरहेको छ । सिड्नीको किङ्सफोर्ड अन्तर्रास्ट्रिय विमानस्थलदेखि साताको दुईवटा उडान गर्ने गरी प्रारम्भिक चरणमा ग्राउण्ड स्लट समेत लिइसकिएको छ भने उडानका लागि आवश्यक पर्ने अधिकांश सम्झौता भइसकेका छन् ।