fbpx

काठमाडौं २१ बाङ्ग्लादेशमा सरकारविरोधी आन्दोलन उत्कर्षमा पुगेपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन्। प्रधानमन्त्री हसिनाले राजीनामा दिएर राजधानी ढाका छाडेकी छन्।

बीबीसीका अनुसार हजारौँ प्रदर्शनकारीहरू ढाकास्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेका छन्। बंगलादेशमा जुलाई महिनादेखि विद्यार्थीहरू आन्दोलन गर्दै आएका थिए ।

मिडिया रिपोर्टका अनुसार शेख हसिना भारतको त्रिपुरा राज्यको राजधानी अगरतला प्रस्थान गरेकी छन् । उनी हेलिकप्टरमा भारत गएकी हुन् । उनी आफ्नी बहिनीलाई साथमा लिएर देश छोडेको बिबिसीले उल्लेख गरेको छ ।

आइतबार भएको प्रदर्शनमा सयभन्दा बढीको मृत्यु भएपछि बंगलादेशमा प्रदर्शनले उग्र रुप लिएको थियो ।

अन्तरिम सरकार बन्ने

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेपछि अब अन्तरिम सरकार बन्ने भएको छ । देश छोड्दा उनकी बहिनी शेख रेहाना पनि साथमा थिइन् । हसिना हेलिकप्टरमा भारतीय सहर अगरतला पुगेकी छन् ।

प्रधानमन्त्री हसिनाले देश छोडेपछि सेना प्रमुख जनरल वकार–उज–जमानले सञ्चारमाध्यमलाई सम्बोधन गर्दै बंगलादेशमा अन्तरिम सरकार बन्ने बताएका छन् । अहिले नयाँ सरकार गठन गर्न छलफल भइरहेको मिडिया रिपोर्टमा बताइएको छ ।

बंगलादेशको राजधानी ढाकामा रहेको प्रधानमन्त्री शेख हसिनाको सरकारी निवासमा हजारौं प्रदर्शनकारीले आक्रमण गरेका थिए । बंगलादेशमा आरक्षणलाई लिएर चलिरहेको आन्दोलन सोमबार थप व्यापक भएको छ ।

गत महिनादेखि जारी रहेको सरकार विरोधी प्रदर्शनकारी र सुरक्षा बलबीचको झडपमा झण्डै ३०० जनाको मृत्यु भएको छ ।