fbpx

काठमाडौं २३ / हेटौंडामा कम्पनी दर्ता गरी कार्यालय खोलेर अनलाइन ठगी धन्दा चलाएको आरोपमा ९ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर प्रहरीले सोमबार साँझ हेटौंडा उपमहानगरपालिका–४ पारिजातपथस्थित प्रमोद वाग्लेको घरको फ्ल्याट भाडामा लिएर कार्यालय सञ्चालन गरी अनलाइन ठगी धन्दा चलाइरहेको सूचनाको आधारमा छापा मारेको थियो ।

मेडि असिस्ट नामको कम्पनी मार्फत अनलाइन ठगी भइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको रिजालको भनाइ छ। पक्राउ पर्नेमा भारतको पटना थाना आलमगंजका २८ वर्षीय नवनित कुमार, झारखण्डका २७ वर्षीय शाहरुख खान, बिहारका २९ वर्षीय कुन्दन कुमार, नैनितालका २६ वर्षीय आशिष कब्डौला, राँचीका ३४ वर्षीय विशाल कक्कड, राँचीका ३८ वर्षीय लोकेशकुमार दुवे, राँचीकै २९ वर्षीय विकासकुमार सिंह, दिल्लीका २८ वर्षीय अरुणकुमार र गाजियावादका ४० वर्षीय कुनाल शर्मा छन्।

२०८० फागुन १० मा भारतको नयाँ दिल्लीका द्रविनकुमार सिंहको नाममा मेडि असिस्ट कम्पनी दर्ता गरिएको पाइएको एसपी रिजालले बताए। यो कम्पनील्े परामर्श सेवा प्रदान गर्दै आएको थियो। उनका अनुसार, अनुसन्धानका क्रममा कम्पनीले कुनै पनि आर्थिक कारोबार कानून बमोजिम गरेको पाइएको छैन भने अभिलेखीकरण गरेको पनि भेटिएको छैन।

उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट १० दिनको अनुमति लिइएको छ । उनीहरूबाट विभिन्न कम्पनीका सात वटा ल्यापटप, तीन वटा राउडर, १३ वटा मोबाइल लगायतका सामग्री बरामद गरेको छ।