fbpx

काठमाडौँ २५ साउन / बलाधिकृत रथी अशोकराज सिग्देलले शुक्रवारबाट नेपाली सेनाको कमान्ड सम्हालेका छन् । मन्त्रिपरिषद्को निर्णय बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलबाट साउन २५ गतेको मितिबाट कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने अख्तियारी पाएका थिए ।

नेपाली सेनामा प्रधानसेनापति अवकास पाउनुभन्दा एक महिना अघिदेखि बिदामा बस्ने अभ्यास छ । यसैअनुसार प्रधानसेनापति शर्मा शुक्रबारबाट बिदामा बसेका हुन् । प्रधानसेनापति शर्माले भदौ २४ गते अवकास पाउने छन् । त्यसपछि नेपाली सेनाको प्रधानसेनापति सिग्देल हुनेछन् ।

सिग्देललाई बिहीबार प्रधानसेनापति महारथी प्रभुराम शर्माले जङ्गी अड्डामा आयोजित एक समारोहकाबिच प्रधान सेनापतिको कार्यभार बरबुझारथ गरेका थिए ।

शर्माले नेपाली सेनाको सबै तह र तप्काहरूलाई राम्रोसँग बुझेको, नीति नियम र पद्धतिबारे गहन बुझाइ राख्ने, व्यावहारिक एवम् उत्कृष्ट व्यावसायिक क्षमता भएका बलाधिकृत रथी सिग्देललाई आफ्नो उत्तराधिकारीका रूपमा कार्यभार बुझाउन पाएकोमा खुसी व्यक्त गरेको सैनिक निर्देशनालयले जनाएको छ ।