fbpx

काठमाडौँ २६साउन / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको ‘क्लोज क्याम्प’ सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, कर्णाली र मधेस प्रदेशमा आज दोस्रो दिन पनि जारी छ ।

पार्टीको वैचारिक, राजनीतिक र सांगठनिक पक्षमा छलफलसहित विधान संशोधनमा सुझाव दिन रास्वपाको प्रदेश समितिले क्लोज क्याम्प आयोजना गरेको हो ।

सुदूरपश्चिममा ८०, लुम्बिनीमा ७०, गण्डकीमा ६०, कर्णालीमा ३० र मधेसमा ८० जना सहभागी क्लोज क्याम्पमा ६ समूहमा विषयगत छलफल भइरहेको कार्यवहाक प्रवक्ता मनिष झाले जानकारी दिए। क्लोज क्याम्पमा प्रदेश समितिका पदाधिकारी, सदस्य, जिल्ला संयोजक, उपसंयोजक एवं प्रदेशस्तरीय विभागका पदाधिकारी र सदस्य सहभागी छन्।

रास्वपाले सहजीकरणका लागि सुदूरपश्चिममा दीपक बोहोरा र गणेश पराजुली, लुम्बिनीमा लक्ष्मी तिवारी र कुसुम महर्जन, गण्डकीमा शिव नेपाली र विजय जैरु, कर्णालीमा हरि ढकाल र बिनिता कठायत तथा मधेसमा मनिष झा र कामिनी चौधरीलाई पठाएको छ।

क्लोज क्याम्पमा विचार, संगठन, अभियान, मूल्य–मान्यता, संसदीय मामिला र क्यान्डिडेट क्लब/लिडरसिप एकेडेमी गरी ६ वटा विषयमा भएको छलफलको निष्कर्ष एकीकृत गरी केन्द्रीय समितिमा बुझाइने छ। रास्वपा केन्द्रले विधान संशोधनको सुझावसमेत मागेकाले क्लोज क्याम्पमा त्यसबारे पनि छलफल भइरहेको जनाइएको छ।

‘क्लोज क्यामबाट आएका सुझाव केन्द्रीय समितिमा प्रस्तुत गरेर पार्टी विस्तार र सुदृढीकरणको योजना रहेको जनाइएको छ। राष्ट्रिय भेला र महाधिवेशनको मिति प्रस्ताव भइसकेकाले अभियानकै रुपमा पार्टी कामलाई उठाउन ‘क्लोज क्याम्प’ गरेको रस्व्पाले जनाएको छ।