काठमाडौँ २९ साउन / सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकाललाई मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा ढकालले सार्वजनिक यातायात क्षेत्र असुरक्षाको विषयमा बोल्न समय माग गरेको तर अर्को विषय उठाउन खोजेकोले बोल्न रोकेपछि रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले संसद अवरोध गरेका छन् ।
त्यसपछि रास्वपा र राप्रपा सांसद उठेर अवरोध गरेका हुन् । उनीहरुले सांसदलाई बोल्नबाट रोक लगाउन नहुने भन्दै विरोध जनाएका थिए ।
त्यस लगत्तै सभामुख घिमिरेले रास्वपा सभापति रवि लामिछानेलाई बोल्न समय दिए । उनले सांसद हरि ढकालले विद्युत महसुलको विषय उठाउनेवित्तिकै सभामुखले माइक काटिदिएको भन्दै विरोध जनाए ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसदहरुले संसदमा जुनसुकै विषय उठाउन सक्ने भन्दै सभामुखले रोक्न नपाउने बताए । संसदमा जुनसुकै विषय उठाउन सांसदलाई सार्वभौम अधिकार रहेको लिङ्देनको भनाइ छ ।

