काठमाडौँ ३१ साउन / काठमाडौंस्थित भारतीय राजदूतावासमा भारतको ७८ औँ स्वतन्त्रता दिवस धूमधामका साथ मनाईएको छ । बिहीबार भारतीय राजदूतावासमा विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो।
नेपालका लागि भारतीय राजदूत महामहिमले भारतको राष्ट्रिय झन्डा झन्डोत्तोलन गरेसँगै सो समारोहको शुभारम्भ भएको थियो ।कार्यक्रममा भारतका राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रका नाममा गरेको सम्बोधन भिडियोमार्फत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा भारतीय सेनामा कार्यरत रहँदा वीरगति प्राप्त गरेका नेपालीका परिवारलाई सम्मान गरिएको थियो। उनीहरूलाई आर्थिक सहयोगसहित कपडा पनि वितरण गरिएको थियो।
राजदूतले भारतीय सशस्त्र बलका मृतक गोर्खा सैनिकका श्रीमती र निकटतम नातेदारलाई नेरु. ५.५० करोड र कम्बल वितरण गरी सम्मान गरे । साथै, भारतीय सशस्त्र बलका मृतक सैनिकका श्रीमती एवम् १०७ मृतक सदस्यका निकटतम नातेदारहरूका लागि नेरु १२.५५ करोड भुक्तानी दिइएको छ ।

यस भुक्तानीमा आर्मी ग्रुप इन्स्योरेन्स (एजीआई) कार्यक्रम अन्तर्गत वर्ष २०२४ का लागि डेथ–इन–सर्भिस, एक्सटेन्डेड इन्स्योरेन्स र एजीआई परिपक्वता भुक्तानी लगायतका सुविधा समावेश छन् । दूतावासले नेपालका पाँच प्रदेशका २१ वटा शैक्षिक संस्था र पुस्तकालयका लागि पुस्तक अनुदानको पनि घोषणा गरेको छ ।

