काठमाडौँ ०२ भदौ / रसुवास्थित प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा पहिलो पटक राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा तीर्थालु भक्तजनलाई रातिको समयमा उज्यालो पुर्याउने उद्देश्यले पहिलो पटक बिजुली बत्ती बालिएको छ।
धार्मिक एवं पर्यटकीय गन्तव्यका रूपमा रहेको गोसाइँकुण्डमा मेलाको तयारीसँगै बिजुली बलेपछि तीर्थालु तथा स्थानीय होटल व्यवसायी उत्साहित भएका छन्। २०३८ सालमा जिल्लामा विद्युत् सेवा विस्तार भएपनि गोसाइँकुण्डमा पहिलो पटक शुक्रबार विद्युत् लाइन सञ्चालन गरिएको हो।
धार्मिक एवम् पर्यटकीय गन्तव्य गोसाईंकुण्डमा जनैपूर्णिमा दिन लाग्ने मेलाको पूर्वसन्ध्यामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्याइएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । उनले धार्मिक एवम् पर्यटकीय क्षेत्रलाई उज्यालो बनाउने अभियानअन्तर्गत गोसाईंकुण्डमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्याइएको बताए ।
रसुवाको सदरमुकामबाट गोसाईंकुण्डतर्फ जाने बाटोमा पर्ने चन्दनबारीसम्म यसअघि नै राष्ट्रिय ग्रिड पुगेको थियो । चन्दनबारीबाट करिब ८ किलोमिटर ११ केभी लाइन लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै गोसाईंकुण्डमा पुर्याइएको बताइएको छ ।

