एजेन्सी ०५ भदौ / भारतमा अनुसूचित पिछडा वर्ग तथा जनजातिले पाउँदै आएको आरक्षणमा सर्वोच्च अदालतले ‘क्रिमी लेयर’ लागू गर्ने आदेश गरेको विरोधमा दलित तथा आदिवासी संगठनहरुले बुधबार आमहड्ताल घोषणा गरेका छन् ।
आम हड्तालले कतिपय राज्यमा सवारीसाधन, रेल्वे, स्कुल, कलेज तथा बजार प्रभावित बनेको छ । सबैभन्दा प्रभाव झारखण्ड तथा बिहार राज्यमा देखिएको छ । कतिपय क्षेत्रमा आन्दोलनकारी तोडफोडमा पनि उत्रिएका छन् । समाचार ऐजेन्सीहरूले हिंसात्मक झडपहरू पनि भएको जनाएका छन। प्रदर्शनकारीहरू रेल्वे ट्र्याकमै सुतेर रेल्वे सञ्चालानमा बाधा पुर्याएका छन् ।
बन्दको प्रभाव भारतको कयौँ ठाउँमा देखिएको छ । पीटीआईका अनुसार बिहारको जेहानाबादमा प्रहरी र प्रदर्शनकारीबिच झडप भएको थियो । बिहारको आराहमा प्रदर्शनकारीले रेलमार्ग अवरुद्ध गरेका थिए । प्रदर्शनकारीले दरभंगा–दिल्ली बिहार सम्पर्क एक्सप्रेस रेललाई पनि दरभंगा रेलवे स्टेसनमा रोकेका थिए । कयौँ स्थानमा प्रदर्शनकारीहरूले सडक अवरुद्ध गरेका थिए । यस क्रममा केही स्थानमा प्रहरीले लाठीचार्ज पनि गरेको थियो ।
‘यी शान्तिपूर्ण विरोध प्रदर्शन थिएनन् । यी मानिसहरूले कानुन र व्यवस्थालाई आफ्नै हातमा लिएका थिए । तिनीहरूले ट्राफिक व्यवस्थालाई ध्वस्त पारिदिए । सर्वसाधारणलाई आवतजावत गर्न गाह्रो भएको थियो । हामीले सम्झाउन खोज्यौँ तर तिनीहरूले बुझेनन्, त्यसैले तिनीहरूलाई हटाउन हल्का बल प्रयोग गर्नुपर्यो ।’
पटनाका डिप्टी एसपी अशोक कुमारले भने । पीटीआईका अनुसार भारत बन्दको प्रभाव झारखण्डको राँचीमा पनि देखिएको छ । यहाँ निजी बस सेवा बन्द गरिएको छ । जसका कारण सर्वसाधारणले समस्या भोग्नुपरेको छ । बन्दलाई समाजवादी पार्टी (एसपी), बहुजन समाज पार्टी (बसपा) र राष्ट्रिय जनता दल (राजद) पनि समर्थन गरेका थिए ।
सर्वोच्च अदालतले यो महिनाको सुरुमा २० वर्ष पुरानो आदेशलाई उल्ट्याउँदै आरक्षणभित्र उप–श्रेणीको व्यवस्था गरेको थियो । यसअघि अनुसूचित जातिलाई सिङ्गै एउटा समूह मानिन्थ्यो । तर अगस्ट १ को निर्णयमा भने तोकिएको आरक्षणमा जातिगत आधारमा कोटा निर्धारण गर्न आदेश दिएको थियो ।
अनुसूचित जातिभित्र वर्गीकरणले अनुसूचित जाति र जनजातिको संवैधानिक अधिकारी जोखिममा पर्ने भन्दै यसलाई बन्द गर्न आन्दोलनकारीहरूले माग गरेका छन् ।

