काठमाडौँ ०६ भदौ / नेदरल्यान्ड्समा भएको श्रृङ्खलामा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक विश्वकप लिग दुइ श्रृङ्खलामा नेदरल्यान्ड्सले अमेरिकालाई हराएको छ । घरेलु टोलीबीचको त्रिकोणात्मक श्रृङ्खलाको छैटौँ खेलमा घरेलु टोलीले अमेरिकालाई २७ रनले पराजित गरेको हो ।
नेदरल्यान्ड्सले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४५ ओभर ५ बलमा अल आउट हुँदै १ सय ७९ रन मात्र बनायो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्स ४९ दशमलव १ ओभरमा २ सय ६ रन जोड्दै अल आउट भएको थियो ।
यो खेलसँगै लिग दुईको चौथो राउन्ड सकिएको छ । यस राउन्डमा घरेलु टोलीले शतप्रतिशत जित निकाल्दा क्यानडाले चारै खेल गुमाएको छ । अमेरिका २ मा जित तथा २ खेलमा पराजित भयो । ८ टोली सहभागी लिग दुईको अङ्क तालिकामा नेदरल्यान्ड्स १२ अङ्कका साथ शीर्ष स्थानमा छ ।
डच टिमले ती दुई पराजय गत फेब्रुअरीमा नेपालमा भएको लिग–२ सिरिजमा बेहोरेको थियो । यस्तै, अमेरिका चार खेलबाट ४ अंकसहित हाल तालिकाको पाँचौं स्थानमा छ । उसले अब लिग–२ को दोस्रो सिरिज अक्टोबरमा नेपाल र स्कटल्याण्डविरुद्ध खेल्ने तालिका छ । उक्त श्रृंखला अमेरिकामा हुनेछ ।

