काठमाडौँ ०६ भदौ / सूर्यविनायक नगरपालिका‐८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरलाई केदारनाथको शिर मानिएको डोलेश्वर महादेव मन्दिरमा आज बिहानदेखि भीड लागेको छ । मन्दिरका चारवटै ढोका बिहान ४ बजेदेखि नै खुला छन् ।
उक्त्त मन्दिरमा भदौ ६ गते केदारनाथको शिर भाग घोषणा गरिएको दिन मन्दिरका चारै ढोका खुला गर्ने र डोलेश्वरको शिलामा पूजा गर्न पाउने व्यवस्था गरिएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जानकारी दिएको छ।
मन्दिरमा बिहान ४ बजेदेखि चारवटै ढोका खुला गरेर दर्शनको व्यवस्था गरेको र बिहानैदेखि दर्शनार्थीको भीड लागेको समितिले जानकारी दिएको छ। डोलेश्वर मन्दिरमा महाशिवरात्रि, अक्षय तृतीया र भदौ ६ गते हरेक वर्ष तीन दिन मात्र मन्दिरका चारवटै ढोका खुला गरेर शिला छोएर पूजा गर्ने व्यवस्था गरिएको छ।
सार्वजनिक बिदा
डोलेश्वर महादेव मन्दिरलाई भदौ ६ गते केदारनाथको शिर घोषणा गरिएको दिन भएकाले आज सूर्यविनायक नगरपालिकाले नगर पालिका क्षेत्रमा सार्वजनिक बिदाको दिएको छ ।
डोलेश्वरलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्न सूर्यविनायक नगरपालिका–८ नम्बर वडा कार्यालयले समितिसँग छलफल गरिरहेको छ । विक्रम संवत् २०६६ साल भदौ ६ गते मन्दिरलाई केदारनाथको शिर घोषणा गरिएको थियो ।

