काठमाडौँ ०६ भदौ / धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव शून्य एक अंकले उकालो लागेर दुई हजार नौ सय ७४ दशमलव ४६ मा पुगेको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको सेयर मूल्यमा गिरावट आउँदा सात उपसमूहको सेयर मूल्य भने बढेको छ । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक तीन दशमलव ७५ अंकले उकालो लागेर पाँच सय ३३ दशमलव ८६ मा पुगेको छ ।
अघिल्लो दिन नेप्से सूचक २.११ अंकले बढ्दै २९६८.४४ विन्दुमा अडिएको थियो । बुधबार १८ अर्ब ५४ करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा बिहीबार कारोबार केही बढ्दै १९ अर्ब १६ करोड ६ लाख रुपैयाँ बराबरको भएको छ ।
आज सबैभन्दा बढी साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १ अर्ब ३ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने अरुण भ्याली हाइड्रोपावरको ४७ करोड ४७ लाख ८ हजार रुपैयाँ बराबरको र हिमालयन रिइन्स्योरेन्सको ४४ करोड ८० लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

