fbpx

काठमाडौँ ०६ भदौ / बिहीबार बसेको राष्ट्रिय सभा बैठकले संक्रणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित गरेको छ । बैठकले उक्त प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ सर्वसम्मतिले पारित गरेको हो ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उक्त विधेयक पारित गरियोस भन्ने राखेको प्रस्तावलाई राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले निर्णायार्थ प्रस्तुत गरेका थिए ।

राष्ट्रिय सभाले पारित गरेसँगै अब यसको सन्देश प्रतिनिधि सभामा सुनाएपछि सभामुखले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइने व्यवस्था छ ।

यसअघि उक्त विधेयक प्रतिनिधि सभाबाट पारित भएको थियो । लगत्तै माथिल्लो सदन राष्ट्रिय सभामा पेस भएको थियो । दुवै सदनबाट पारित भएपछि अव राष्ट्रपतिबाट प्रमाणीकरण हुँदै लागू हुनेछ।