काठमाडौँ ०७ भदौ / तनहुँको आँबुखैरेनीमा शुक्रबार बिहान भएको भारतीय बस दुर्घटनामा मृत्यु हुनेको संख्या २१ पुगेको छ। उद्धारकार्य जारी रहेकाले यो संख्या अझ बढ्नसक्ने अनुमान जिल्ला प्रहरी कार्यालय तनहुँ प्रहरीले गरेको छ।
बसमा चालक र सहचालकसहित ४३ जना भारतीय यात्रु सवार थिए। मृतकको शव नेपालस्थित भारतीय दूतावासको टोलीले बुझेर पोखरा लगेको छ । आँबुखैरेनी अस्पतालमा चार वटा मात्रै शव राख्ने क्षमता भएकाले दूतावासले सबै शव पोखरा लगेको प्रहरीले जनाएको छ ।
पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय यात्रु बोकेको युपी ५३ एफटी ७६२३ नम्बरको बस मस्याङ्दी नदीमा खसेको हो। बसमा सवार यात्रु सबै भारतको महाराष्ट्रका भएको खुलेको छ। घाइतेमध्ये १८ जनालाई उपचारका लागि तनहुँ जिल्लाको आँबुखैरेनी अस्पतालमा लगिएको छ। ११ जना गम्भीर घाइतेलाई काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ।
यात्रुको उद्धारका लागि १० जनाको गोताखोर टोली घट्नास्थलमा परिचालन भएको छ। अप्ठ्यारो भीर भएका कारण घाइतेको उद्धारमा कठिनाइ भएको प्रहरीले बताएको छ।

