fbpx

काठमाडौँ ०९ भदौ / झापाको अर्जुनधारा नगरपालिका– ५ मा बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । सात जनाले सामूहिक बलात्कार गरेको उजुरी परेसँगै घटनामा संलग्न भएको आरोपमा उनीहरु पक्राउ परेका हुन् । एक जना भने फरार रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शुक्रबार राति अलग अलग स्थानमा लगेर ती युवाले १६ वर्षीया बालिकामाथि बलात्कार गरेका थिए ।

अनिश, सरोज र केशवले ती किशोरीलाई अर्जुनधारा नगरपालिका-८ नयाँ बजारस्थित बाख्रा हटिया लाग्ने स्थानको फलैचामा जबरजस्ती करणी गरेको र सुनिल, सुदिप, सुजन र २० वर्षीय संजीव तामाङले अर्जुनधारा नगरपालिका-७ स्थित होटलमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरीले घटनामा संलग्न हाल फरार रहेका संजिवको समेत खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।