काठमाडौँ ०९ भदौ / आतबार बिहान बिहारको समस्तीपुरको एनएच (नेशनल हाइवे) २८ मा नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना भएको छ। तीव्र गतिमा आएको ट्रकले ठक्कर दिएपछि नेपाली तीर्थयात्री चढेको बस दुर्घटना हुँदा ३६ जना बढी घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
भारतका सञ्चारमाध्यमहरूले बसमा ४३ जना सवार रहेकामा अधिकांश घाइते भएको उल्लेख गरेका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ। दुर्घटनालगत्तै मुसरीघरारी थानाबाट पुगेको प्रहरीले घाइतेहरूलाई अस्पताल पुर्याएका थिए।
भारतीय सञ्चारमाध्यम जागरण अनलाइनका अनुसार घाइतेहरूमध्ये २० जनालाई सदर अस्पतालमा भर्ना गरिएको छ। उनीहरू सबैको परिचय खुलिसकेको छ।
अस्पतालमा उपचाररत घाइतेहरूमा बाराकै मुक्तिपलियाका गीता देवी, सीमाकुमारी विश्वानाथ मुखिया, शोभा कुमारी , राजेश्वरप्रसाद साह, मुस्कान साह, फेकन मुखिया, सियापति देवी, लक्ष्मी झा, रविन्द्र कुमार रामेश्वर साह, सुवोधप्रसाद झा, लक्ष्मण मुखिया, सुमन मिश्रा, काजलकुमारी , किशोरी साह, उषा देवीलगायत छन्।
तीर्थयात्रीहरू सबै बारा जिल्लाका रहेको पनि जागरणले उल्लेख गरेको छ। सडकमा पल्टिएको बसलाई क्रेन लगाएर सिधा बनाइएको थियो।
बस र ट्रक दुवैका चालकहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको त्यहाँको प्रहरीले जनाएको छ।

