fbpx

काठमाडौँ ०९ भदौ / प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संसदीय समितिले नेपाल आयल निगम लिमिटेडको स्थलगत अनुगमन गर्ने भएको छ। आईतवार बसेको समितिको बैठकले निगमको स्थलगत अनुगमन गरी समग्र काम, कारबाहीको बारेमा जानकारी लिने निर्णय गरेको हो।

समिति सभापति अब्दुल खानले उनले पाइपलाइनबाट पेट्रोलियम पद्धार्थ आए/नआएको र सोको अवस्थाका बारेमा लगायत निगमका सबै काम, कारबाहीको सम्बन्धमा अध्ययन, अवलोकन गरेर आवश्यक निर्देशन दिने तयारी गरिएको जानकारी दिए। त्यस्तै समितिले वायो ईथानोल उत्पादन गर्ने स्वदेशी उत्पादकहरुलाई आह्वान गरी बायो ईथानोलको उत्पादन तथा प्रयोगमा ल्याउन आवश्यक प्रवन्ध गर्न सरकारलाई निर्देशन दिएको छ।

नेपालमा वायो ईथानोल उत्पादन गर्ने उत्पादकहरुसँग तोकिएको गुणस्तर तथा मुल्यमा निश्चित परिमाणमा वायो ईथानोल खरिद सम्झौता गरी पेट्रोलमा वायो ईथानोल मिश्रण गरी आन्तरिक उत्पादन, वैदेशिक मुद्रा सञ्चिति र रोजगारीका साथै कुल ग्राहस्थ उत्पादन बढाउन सकिने तर्फ समितिको गम्भीर ध्यानाकर्षण भएको बताएको छ।