काठमाडौँ १० भदौ / पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा बन्दुकधारीले सोमबार कम्तीमा २२ जनाको गोली हानी हत्या गरेको सरकारी अधिकारीहरूले बताएका छन् । सुरक्षा फौजले साम्प्रदायिक, जातीय र पृथकतावादी हिंसाविरुद्ध लडिरहेको बलुचिस्तान प्रान्तको मुसाखाइल जिल्लामा सोमबार बिहान उक्त आक्रमण भएको हो ।
सहायक आयुक्त मुसा खेल नजीबले घटनाको पुष्टि गर्दै बीबीसी उर्दूलाई भने, ‘घटना जिल्लाको रारा हाशिम क्षेत्रमा भएको हो । प्रहरी नियन्त्रणमा रहेको उक्त क्षेत्रमा गएराति गोली चलेको हो ।’
जानकारीका अनुसार केही अज्ञात व्यक्तिहरूले पञ्जाब र बलुचिस्तानको बीचमा चलिरहेका ट्रक र बसहरूलाई रोकेका थिए । त्यसपछि यात्रुलाई ओराले । उनीहरूले परिचयपत्र जाँच गरे र बलोचबाहेक सबैको गोली हानी हत्या गरे ।
बलोच भनेको दक्षिणपश्चिम पाकिस्तानको बलुचिस्तान प्रान्त र इरानको सिस्तान प्रान्तमा बसोबास गर्ने एक जाति हो ।चरमपन्थी समूह बलोच लिबरेशन आर्मीले आक्रमणको जिम्मेवारी लिएको छ र उसले प्रान्तका विभिन्न क्षेत्रबाट सडक अवरुद्ध गरेको जनाएको छ ।
बलुचिस्तानका विभिन्न इलाकामा राजमार्गमा हतियारधारी मानिसको उपस्थितिका कारण यातायात अवरुद्ध भएको खबर आएको थियो । सरकारी अधिकारीहरुका अनुसार बन्दुकधारीहरुले कैयौं गाडीमा आगजनी समेत गरेका छन् । पछिल्लो २४ घण्टामा बलुच लिबरेशन आर्मीले धेरै सरकारी भवनमा क्षति पुर्याएका छन् ।
गोली प्रहारबाट ५ जना घाइते भएकोमा एक जनाको अवस्था चिन्ताजनक रहेको सहायक आयुक्तले जानकारी दिए । यसअघि शनिबार र आइतबार मध्यरातमा बलुचिस्तानका विभिन्न क्षेत्रबाट बम विष्फोट भएको खबर आएको थियो ।

