fbpx

काठमाडौँ १२ भदौ / गुल्मीका धुर्कोट, मदाने, मालिका र इस्मा गाउँपालिकामा भदौ १० गते हावाहुरीसँगै आएको चट्याङ र पानीले विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गुल्मीले जनाएको छ ।

उनायचौरदेखी धुर्कोट वस्तुमा रहेको सव–स्टेशनसम्म जाने ३३ केभिको लाइनमा क्षती पुगेसँगै चार पालिकामा विद्युत सेवा अवरुद्ध भएको वितरण केन्द्रले जनाएको छ ।

कार्यालयले जति सक्दो छिटो विद्युत सेवा सुचारु गर्नका लागि प्राविधिकसहितको टोली लागेको उहाँको भनाइ छ । कार्यालयमा भएको जनशक्ति सबै खटेर विद्युत मर्मतको कार्य भइरहेकाले धैर्य गर्न कार्यालयले आग्रह समेत गरेको छ।

गुल्मीको पश्चिमी भेगमा विरवासबाट उनायचौर हुँदै वस्तु सव स्टेशनसम्म विद्युत पु¥याइएको छ । वस्तु सव–स्टेशनबाट धुर्कोट, मालिका, मदाने, इस्मा गाउँपालिका तथा मुसिकोट नगरपालिकाको वडा नम्बर १ र २ मा विद्युत आपूर्ति भइरहेको कार्यालयले जनाएको छ ।

विगत तीन दिनदेखि विद्युत नहुँदा यहाँका स्थानीय अन्धकारमा वस्न बाध्य हुनुका साथै मोवाइल चार्ज र इन्टरनेट सेवाबाट समेत वञ्चित हुनुपरेको स्थानीयहरुले जनाएका छन् ।