काठमाडौँ १४ भदौ / नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पेरिस पारा ओलम्पिक २०२४ मा पहिलो खेल जितेकी छन् ।पदक आशा गरिएकी पलेशाले तेक्वान्दोको के–४४ अन्तर्गत आज शुक्रबार भएको महिला ५७ केजीमुनि तौल समूहमा भियतनामकी मोरालेस भलेरियाविरुद्ध खेल जितेकी हुन् ।
पेरिसस्थित ग्रान्ड प्यालेसमा राउन्ड अफ १६ को खेलमा उनले भलेरियालाई ३१–० को अंक अन्तरले पराजित गरिन् । पलेशाले बडी किकबाट सबैभन्दा धेरै अंक बटुलेकी थिइन् ।
टोकियो पारा ओलम्पिक खेलिसकेकी पलेशा हाङचाउ एसियाली खेलकुदकी कांस्य विजेता खेलाडी हुन् । उनले जितेको पदक पारा एसियाली खेलकुदमा नेपालको पहिलो पदक हो ।
गत चैतमा चीनमा भएको एसियाली ओलम्पिक छनोट चरणमा स्वर्ण पदक जित्दै पेरिस ओलम्पिक पक्का गरेकी थिइन् ।
पलेशा १९औं एसियाली खेलकुदकी पनि ऐतिहासिक कास्य पदक विजेता हुन् ।पलेशाले यसअघि सन् २०२१ मा जापानमा भएको टोकियो पारा ओलम्पिक समेत खेलेकी थिइन् । जहा उनले दुई बाउट जित्दै कीर्तिमान बनाएकी थिइन् ।

