काठमाडौँ १६भदौ / राष्ट्रिय स्वतन्त्र पार्टीमा साधारण सदस्यबाट समेत निलम्बनमा परेका निवर्तमान महामन्त्री तथा पार्टी प्रवक्ता मुकुल ढकालले पुनरावेदन गरेका छन् । आइतबार उनले महामन्त्री पदमा बहाली होस् भन्दै पार्टीको पुनरावेदन समितिमा पुनरावेदन गरेको जानकारी दिएका हुन् ।
महामन्त्री, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णयविरूद्ध डा. मुकुल ढकालले पार्टीमा पुनरावेदन दिएका छन्। पार्टी हित, आचरण प्रतिकूल हुने गरी कार्य गरेको भन्दै ढकाललाई असार २५ गते निलम्बन गरिएको थियो। साथै भदौ ११ गते राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई साधारण सदस्यबाट समेत बर्खास्त गरिसकेको छ।
‘पार्टी पदको दुरुपयोग गरी पार्टी विधान एवं कानुन विपरीत केन्द्रीय समितिको बैठक बसी म उपर कारबाही गर्दा सफाइ पेस गर्ने मौका समेत प्रदान नगरेको, निर्णय माग गर्दा निर्णय उपलब्ध समेत नगराई मलाई पार्टीको महामन्त्री, प्रवक्ता तथा केन्द्रीय समितिको सदस्यबाट पदमुक्त गर्ने गरी भएको कथित निर्णय त्रुटिपूर्ण रहेको हुँदा पार्टीको निर्णय अभिलेखबाट हटाई साबिक बमोजिम साबिककै पदीय हैसियतमा रही पार्टीमा काम गर्ने वातावरण मिलाई पाउँ उनले लेखेका छन् ।

