fbpx

काठमाडौँ १७भदौ / रुसले किएभमा ड्रोन, क्रुज तथा ब्यालेस्टिक मिसाइलद्वारा आक्रमण गरेको युक्रेनको वायुसेनाले सोमबार बिहान बताएको छ । आज बिहान युक्रेनको राजधानीमा शृङ्खलाबद्ध धेरै विस्फोट भएका छन् । राजधानीका बासिन्दाहरूलाई बम आश्रय स्थलहरूमा पठाइएको छ ।

किएभका मेयर भिटाली क्लिट्स्कोले आपत्कालीन सेवाहरूलाई किएभको होलोसिभस्की जिल्लामा बोलाइएको बताए । उनका अनुसार शेभचेनकिभ्स्की जिल्लामा भग्नावशेषमा खसेर एक व्यक्ति घाइते भएका छन् । “हरेक कुराको जवाफ हुनेछ, दुश्मनले यो महसुस गर्नेछ”, आक्रमणपछि राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री यरमकले टेलिग्राम पेजमा पोस्ट गरेका छन् ।

वायुसेनाका अनुसार रुसले किएभलाई लक्षित गर्दै ब्यालेस्टिक मिसाइल प्रक्षेपण र केही ड्रोनका साथ क्रुज मिसाइलका धेरै समूहहरू प्रहार गरेको थियो ।

किएभ सहरका सैन्य प्रशासनका प्रमुख सेरही पोपकोले युक्रेनको राजधानी र यसका उपनगरहरूमा प्रहार गरिएका १० भन्दा धेरै क्रुज मिसाइल, करिब १० ब्यालेस्टिक मिसाइल र एउटा ड्रोनलाई युक्रेनको हवाई सुरक्षाले नष्ट गरेको बताए ।