काठमाडौँ १९भदौ / नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस र एमालेबीच कुनै पनि विषयमा मतभेद नरहेको बुधबार काठमाडौंमा नेपाल निजामती कर्मचारी युनियनद्वारा आयोजित एक कार्यक्रममा बोल्दै बताएका छन्।
सभापति देउवाले एमाले र कांग्रेस मुख्य प्रतिस्पर्धी राजनीतिक दल भएपनि मुलुकका साझा एजेण्डामा दुई दलबीच मतभेद नरहेको बताएका हुन्। पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले व्यवस्था जोगाउने विषयमा कांग्रेस र एमालेबीच कुनै मतभेद नभएको स्पष्ट पारेका हुन्।
देशको अवस्था चुनौतीपूर्ण रहेको भन्दै कर्मचारीहरूमा अझ यसको प्रभाव पर्ने उनले बताए। एमाले र कांग्रेस मुख्य प्रतिष्पर्धी राजनीतिक दल भएको उल्लेख गर्दै कतिपय ठाउँमा समस्या भए पनि समस्याको समाधान गर्नु नै आफूहरुको कर्तव्य भएको उनले बताए।
चुनौतीपूर्ण अवस्थामा कर्मचारी युनियनका साथीहरूको अझ बढी जिम्मेदारी छ। कहाँ चुनौती छन् सबैले बुझ्नु भएकै होला। प्रजातान्त्रिक प्रणालीलाई हामीले जोगाउनुछ। त्यसमा हामी सबै लाग्नुछ। यसका सम्बन्धमा आफ्ना आफ्ना मतभेद होलान्। एमाले पार्टीसँग कांग्रेस र कांग्रेस पार्टीसँग एमालेको होलान्।
बहुदलीय प्रजातान्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा दुई पार्टीका बीच कुनै मतभेद छैन देउवाले भने । खास-खास कुरामा हाम्रो एउटै धारणा भएको हुनाले कुनै विवाद छैन उनले बताए ।

