काठमाडौँ, आश्विन ४ / नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले असोज १२ गते महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएपछि राजीनामा दिएका छन् ।
यसअघि महासंघका अध्यक्ष पदबाट विपुल पोखरेलले राजीनामा दिएपछि विष्ट कार्यवाहक अध्यक्ष बनेका थिए । उनले राजीनामाको बोधार्थ महासंघका उपाध्यक्ष बाला अधिकारी र महासचिव रोशन पुरीलाई दिएका छन् ।
उनले महासंघको विधि विधान र संरचनालाई लत्याएर पत्रकारिता नगरेका र फारम नभरेका करिब ४ सय व्यक्तिलाई सदस्यता दिएको असन्तुष्ट हुँदै राजीनामा दिउको विज्ञप्तिमा उल्लेख गरेका छन्।
विधान अनुसार महासघको सदस्यताको फारम नभरेका, शुल्क नबुझाएका, पत्रकारिता क्षेत्रमा रहेको प्रमाण पेश नगरेका, जिल्ला र प्रदेश समितिबाट सिफारिस नभएका करिब साढे ४ सय व्यक्तिका विषयमा जिल्ला अध्यक्षहरुले प्रश्न उठाएपछि संगठनहरुले त्यसको उत्तर दिन र जिम्मेवारी लिन नसक्दा यही असोज १२ गतेका लागि तोकिएको निर्वाचन नहुने निश्चित भएको हो ।
क्रियाशिल पत्रकारले सदस्यता लिन र जोगाउन संघर्ष गर्नु पर्ने तर पत्रकारीता क्षेत्रले नै नचिनेका व्यक्तिलाई घरमै सदस्यता पुर्याउने गलत अभ्यास हुर्किँदै जानु लज्जाको विषय हो । संगठनहरुको दबाबमा त्यस्ता व्यक्तिलाई सदस्य स्वीकार गर्दै जानु महासंघको गम्भिर भुल भएको स्वीकार गर्नु पर्दछ उनले भनेका छन् ।
विष्टले व्यक्तिगत र पदाधिकारीको हैसियतले सदस्यताको छिनाझप्टीमा कतै संलग्न नभएपनि २०८१ साल असोज १२ गते तोकिएको निर्वाचन हुन नसकेकोसहित महासंघबाट भएका सबै कमजोरीहरुको नैतिक जिम्मेवारी लिदैं कार्यवाहक अध्यक्षबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।

