काठमाडौँ, आश्विन ०६ / महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको आरोपबाट सफाइ दिने उच्च अदालत पाटनको फैसलाविरुद्ध सर्वोच्च अदालतमा जाने निर्णय गरेको छ ।
मुद्दाको फैसलाको पूर्णपाठसँगै उच्च सरकारी वकिलको कार्यालय पाटनले फैसला विरुद्ध पुनरावेदन गर्नुपर्ने भनी राय तयार पारेको थियो । त्यही फाइलको अध्ययनपछि महान्यायाधिवक्ता कार्यालयले मुद्दाको पुनरावेदन गर्ने निर्णय गरेको हो ।
तर, यसअघि गौशाला २६ ले लामिछानेविरूद्ध बलात्कारको मुद्दा अघि नबढाउन उच्च सरकारी वकिल कार्यालय पाटन पुगेर निवेदन दिएकी थिइन् । तर, महान्यायाधीवक्ता कार्यालयले गौशाला २६ को निवेदनले पुनरावेदन गर्न असर नगर्ने बताएको थियो ।
अब लामिछानेले आफूविरुद्धको मुद्दामा सर्वोच्चमा सामना गर्नुपर्ने भएको छ । पुनरावेदन निवेदन दर्ता गराएपछि सर्वोच्च अदालतले सन्दिपलाई झिकाउनु भनी म्याद जारी गर्छ । र, सन्दीप लामिछानेले म्याद बुझेपछि मुद्दाको प्रक्रिया सुरू हुन्छ । हाल लामिछाने आईसीसी लिग-२ खेल्न क्यानडामा छन् ।