fbpx

काठमाडौँ, आश्विन १० / निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन कार्यक्रमअनुसार मंसिर २ गते उम्मेदवारी दर्ताको मिति तय गरिएको छ ।

मंसिर २ गते बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए ।
बिहीबार आयोगले निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । त्यसानुसार मंसिर ३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिन सकिनेछ ।

त्यस्तै मङ्सिर ५ गते दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । साथै सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । त्यस्तै निर्वाचन चिह्न पनि त्यसै दिन दिइनेछ । मङ्सिर १६ गते बिहान ७ देखि ५ बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।

मतदान सुरु हुनुभन्दा ४८ घण्टा अगाडि अर्थात् मङ्सिर १३ गते राति १२ बजेपछि प्रचारप्रसार निषेध अवधि लागू हुने आयोगले विज्ञप्ति मार्फत् जनाएको छ ।