fbpx

काठमाडौँ, आश्विन २९ / दसैंपछि खुलेको सेयर बजार उच्च अंकले बढेको छ। मंगलबार नेप्से परिसूचक ३१.४८ अंकले बढेर २६९९.६६ विन्दुमा आएर बजार बन्द भएको छ। अहिले पनि नेप्सेले २७ सयको विन्दुमा प्रतिरोध पाइरहेको छ। मंगलबार पनि यही विन्दुमा नेप्सेले प्रतिरोध परिक्षण गरिरहेको छ।

बजारमा आज २४३ कम्पनीका ६४ लाख १७ हजार कित्ता सेयर खरिदबिक्री भएका छन् । यस क्रममा २०५ कम्पनीको सेयर मूल्य बढेको छ । ३२ कम्पनीको मूल्य घट्दा ६ कम्पनीको मूल्यस्थिर रहेको छ ।

आज बजारमा उपसूचकमध्ये उत्पादन तथा प्रशोधनमूलक परिसूचकमा सामान्य गिरावट हुँदा अन्य सबै उपसूचकहरू सकारात्मक रहे । आज सर्वाधिक वृद्धि फाइनान्स उपसूचकको ४.६१ प्रतिशतले भयो । बैंकिङ, विकास बैंक लगानी, जीवन बीमा, व्यापार मूल र अन्य समूहका उपसूचक पनि एक प्रतिशत भन्दा धेरैले बढेको छ ।

आजको कारोबारसँगै नेप्सेको समग्र बजार पुँजीकरण ४२ खर्ब ९२ अर्ब पुगेको छ । आज बजारमा जानकी फाइनान्स र मिथिला लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । मध्यसोलु हाइड्रोमा भने आज नकारात्मक सर्किट लागेको छ ।