काठमाडौँ, २0 कार्तिक / सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान चलिरहँदा समर्थकहरूले भने प्रतिशोधपूर्ण तवरले फसाउन खोजिएको दाबी गर्दै आज पोखरामा प्रदर्शनमा उत्रिएका छन् ।
प्रदर्शनका क्रममा उनीहरू निषेधित क्षेत्र तोकिएको सहिदचोक जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । सो क्रममा प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।
गोर्खा मिडियामार्फत सहकारीको रकम अपचलन भएको भन्दै सहकारी ठगी र दुई वा दुईभन्दा बढी समूह मिलेर रकम दुरुपयोग भएको भन्दै रवि र छविविरुद्ध संगठित अपराधको मुद्दा लगाइएको छ ।
लामिछानेलाई अदालतमा उपस्थित गराइने भएपछि आज पनि उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखरामा प्रदर्शन गरेको छ ।
राजनीतिक प्रतिशोधले पार्टी सभापति लामिछानेलाई पक्राउ गरिएको बताउँदै रास्वपाले विरोध प्रदर्शन गर्दै आएको छ ।

