fbpx

काठमाडौँ, २५ फागुन / पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा एक साता बसाइपछि पूर्वराजा शाह आज दिउँसो हवाईमार्ग हुँदै काठमाडौं विमानस्थलमा ओर्लिएपछि राजावादीहरूले सडकका दुवै किनारमा उपस्थित भएर उनको स्वागत गर्ने भएका छन्।

पोखराबाट आज काठमाडौँ फर्किने भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले रुट नै तय गरेर जुलुससहित काठमाडौँ एयरपोर्टसम्म पुग्ने तयारी गरेको छ ।

काभ्रे, सिन्धुपाल्चोक, भक्तपुर, ललितपुरबाट र काठमाडौँ (कागेश्वरी मनोहरा पेप्सीकोला कीर्तिपुर नगरपालिका चन्दागिरी दक्षिणकाली नागार्जुन)बाट आउनेहरूलाई तीनकुनेमा भेला हुन आग्रह गरिएको छ ।

त्यसैगरी नुवाकोट, धादिङ र काठमाडौँको टोखा ,गोकर्णेश्वर र तारकेश्वरबाट आउनेहरूलाई गौशालामा जम्मा हुन भनिएको छ । जोसँग जुन सवारी साधन छ त्यही प्रयोग गरेर तीनकुने र गौशला पुग्न पार्टीले आग्रह गरेको छ ।

दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियान, राप्रपा नेपाललगायतले पनि आफ्ना कार्यकर्तालाई स्वागतको लागि विमानस्थल पुग्न आग्रह गरेका छन् ।

राजावादीहरुले जुलुससहित पूर्वराजाको स्वागत गर्ने तयारी गरेपनि काठमाडौँको सुरक्षा व्यवस्था कडा पारिएको छ । कुनै किसिमको हुलहुज्जतपूर्ण, गैरकानूनी तथा सामाजिक मर्यादाविपरीतका कार्य हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि महाराजगञ्जस्थित निर्मल निवाससम्मको क्षेत्रलाई उच्च सुरक्षा संवेदनशील मान्दै सुरक्षा व्यवस्था कडा पारेको हो ।

गृह मन्त्रालयले यसअघि १० हजार जनासम्म मानिसहरू सडकमा आउन सक्ने आकलन गर्दै सोही अनुसार सुरक्षा व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिएको थियो ।