fbpx

काठमाडौँ ०७ चैत २०८१ / राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आज बिहीबारबाट सुरु हुँदै छ। सामुदायिक र संस्थागत गरी ११ हजार २ सय १६ वटा विद्यालयबाट ५ लाख १४ हजार ७१ विद्यार्थी परीक्षामा सहभागी हुँदै छन्। यसपटक जापानको परीक्षा केन्द्रबाट २९ जना विद्यार्थीले एसईई परीक्षा दिँदै छन्।

बोर्डकाअनुसार एसईईमा सुधार केन्द्रका २१ र एचआईभी प्रभावित ४ विद्यार्थी पनि एसईई दिँदै छन्। केन्द्रीय कारागार सुन्धारा र दैलेख कारागारमा पनि परीक्षा केन्द्र तोकिएको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए। उनकाअनुसार कुल परीक्षार्थीहरूमध्ये १६ हजार ९ सय ४७ जना परीक्षार्थीहरू प्राविधिक धारतर्फका छन्।

परीक्षामा कर्मचारी र सुरक्षाकर्मी गरी ७७ हजार ८ सय १७ जना प्रत्यक्ष रूपमा परीक्षा केन्द्रमा खटाइएका छन्। यस वर्षको एसईई माध्यमिक शिक्षा पाठ्यक्रम २०७८ अनुसार सञ्चालन भएको छ। एसईई परीक्षाको सम्पूर्ण जिम्मा बोर्ड कै छ। तर, परीक्षा केन्द्र तोक्ने र उत्तरपुस्तिका प्रकाशन गर्ने काम प्रदेश सरकारको अधिकारमा रहेको छ।