काठमाडौँ ०९ चैत २०८१ / औरही गाउँपालिका–५ मा महायज्ञका नाममा दलित दीपक मलिकको घर डोजर चलाएर भत्काई उठीबास लगाउने गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव पक्राउ परेका छन् । घटनाबारे समाचार सार्वजनिक भएपछि बिहीबारदेखि सम्पर्कविहीन रहँदै आएका अध्यक्ष यादव शुक्रबार दलबलसहित जिल्ला प्रशासन कार्यालय पुगेका थिए । त्यहीँबाट दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
यही चैत १७ गतेदेखि महायज्ञ लगाउनका लागि सिरहाको औरही ५ का दलित दीपक मलिक (डोम)को घर गत फागुन १० गते भत्काइएको थियो।
घर भत्काउन गाउँपालिकाको जेसीबीसहित अध्यक्ष यादव आफैँ गएका थिए । घर भत्काएपछि उक्त घरले चर्चेको जमिनको माटोसमेत ताछेर फालेपछि उनीमाथि जातीय विभेद गरेको भन्दै तीव्र विरोध भएको थियो ।
यसै घटनामा संवेदनशील भएर कार्य नगरेको भन्दै गृह मन्त्रालयले सिराहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई शुक्रबारै मन्त्रालय तानेको छ। राष्ट्रिय मानवअधिकार आयोग तथा राष्ट्रिय दलित आयोगसमेतले घटनालाई महत्व दिएर स्थलगत अनुगमन गरेको थियो।
प्रतिनिधिसभाको बैठकमा समेत सांसदले पटकपटक यस घटनाका सम्बन्धमा संसदीय छानविन समिति गठनको माग गर्दै दोषीमाथि तत्काल आवश्यक कारबाही गर्न सरकारको ध्यानाकर्षण गरेका थिए ।

