काठमाडौँ ११ चैत २०८१ / क्रोएशियालाई पेनाल्टी सुटआउटमा हराउँदै फ्रान्स युएफा नेसन्स लिगको सेमीफाइनल प्रवेश गरेको छ। क्रोएशियासँग पहिलो लेगमा २–० गोलले पछि परेको फ्रान्सले उत्कृष्ट पुनरागमन गरेको हो।
यूईएफए नेसन्स लिग फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । सोमबार बिहान भएका खेलहरूमा जर्मनी, स्पेन, फ्रान्स र पोर्चुगल विजयी भएसँगै अन्तिम चार समीकरण पूरा भएको हो ।
अब फाइनल प्रवेशका लागि जुन ४ मा हुने पहिलो सेमिफाइनलमा घरेलु टोली जर्मनी र पूर्वविजेता पोर्चुगल भिड्नेछन् । यो खेल म्युनिखमा हुनेछ । यस्तै दोस्रो सेमिफाइनलका लागि साविक विजेता स्पेनले पूर्वविजेता फ्रान्स प्रतिद्वन्द्वी पाएको छ । यो खेल जुन ५ मा हुनेछ । यो खेल जर्मनीकै स्टुगार्डमा हुनेछ ।
सेमिफाइनलमा पराजित टोलीले जुन ८ मा तेस्रो स्थानका लागि खेल्नेछन् । सो खेल सकिएपछि त्यही दिन फाइनल खेल हुनेछ । तेस्रो स्थानका लागि हुने खेल स्टुगार्डमा र फाइनल म्युनिखमा हुनेछ ।

