काठमाडौँ ११ चैत २०८१ / राष्ट्रपति रामचन्द्र पौडेलले सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताले रगतसँग साटेको उपलब्धि भएको भन्दै शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार नागरिकलाई यही व्यवस्थाले दिएको बताएका छन्।
शासन व्यवस्थालाई सुदृढ बनाउन र यही व्यवस्थाबाट नेपाली जनताको भाग्य र भविष्य सुनिश्चित छ भन्ने महसुस गराउनुपर्ने दायित्व सरकार, राजनीतिक दललगायत हामी सबैको हो उनले भने ।
राष्ट्रपति पौडेलले सभामुख हुँदा सोलुखुम्बु र पूर्वी पहाडका डाँडाकाँडामा पैदल हिँडेर जनतासँग भेटेको सम्झिए। उनले टिम्बुरबोटेको ओडारमा रुझ्दै र भिज्दै पुगेको भावुक अनुभव सुनाए। टिम्बुरबोटे २०४१ मा पञ्चायती सरकारले प्रजातान्त्रिक योद्धाहरूको हत्या गरेको ठाउँ हो। उनको गला अवरुद्ध भएको थियो। उनले युवाहरू विदेश पलायन हुने समस्या रोक्न शिक्षा, स्वास्थ्य, उद्योग, उत्पादन वृद्धि, रोजगारी र गाउँमै आम्दानीको व्यवस्था गर्न जनता केन्द्रित नीति र बजेट चाहिने बताए। विगतका गल्तीबाट सिकेर समृद्ध राष्ट्र बनाउन सबैलाई लाग्न आग्रह गरे।
उनले स्वतन्त्रता र शासन प्रणाली समयको माग र जनताको चाहना भएको बताउँदै नेपाली जनतालाई आफूले बनाएको संविधान बाहिरका कुनै पनि निरंकुशता र अराजकता स्वीकार्य नहुने बताउनुभयो । राष्ट्रपति पौडेलले भन्नुभयो– ‘‘इतिहास साक्षी छ कि १०४ वर्षीय जहानीयाँ राणा शासन होस् कि ३० वर्षे पञ्चायत वा सक्रिय राजतन्त्र नेपाली जनताले कुनै पनि निरंकुशताका नाम र अवशेषलाई रुचाएनन् । संघीय लोकतान्त्रिक गणतन्त्र हामीले त्यसै प्राप्त गरेका होइनौँ । यो हजारौंको त्याग, सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धि हो ।’’
राष्ट्रपति पौडेलले देशको युवा जनशक्ति विदेश पलायन हुने प्रवृत्ति रोक्न जरुरी रहेको उल्लेख गर्दै यसका लागि उचित शिक्षा, स्वास्थ्यको प्रवन्ध, उद्योगधन्दाको विकास, उत्पादनमा बृद्धि, चुस्तदुरुस्त सेवा प्रवाह, गाउँंमै रोजगारी र आम्दानीको व्यवस्थाको लागि जनता केन्द्रित नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्नुपर्ने बताउनुभयो । उहाँले विगतमा भएका कमजोरीबाट पाठ सिकेर अघि बढ्दै समृद्ध राष्ट्र निर्माणको अभियानमा जुट्न सम्बद्ध सबैमा अपिल पनि गरे ।

